नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयन भएको हो । क्षेत्र नम्बर ३ मा भने उम्मेदवारी मनोनयनसँगै क्षेत्रीय सभापतिसहित केही पदमा निर्विरोध भएको छ ।
क्षेत्र नम्बर ३ को सभापतिमा नक्की खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत विरेन्द्र यादवले जानकारी दिए । यस्तै क्षेत्रीय कार्यसमितितर्फ मुस्लिम महिला, जनजाती, मधेसी, थारु र खसआर्य सदस्य पदमा निर्विरोध भएका छन् । यसैगरी महाधिवेशन प्रतिनिधीमा मुस्लिम महिला निर्विरोध भए ।
दलित महिला महाधिवेशन प्रतिनिधीमा आशा बिक, खस आर्य कोटामा महाधिवेशन प्रतिनिधी युवराज शर्मा, कुँवर ववन सिंह लगायत निर्विरोध भएको यादवले बताए । क्षेत्रीय सचिव, सहसचिव, खुल्ला कार्यसमिति सदस्य र खुल्ला महाधिवेशन प्रतिनिधी लगायत पदका लागि बिहीबार मतदान हुनेछ । बिहीबार बिहान ९ बजेबाट कपास विकास समितिको हलमा मतदान सुरु हुने मतदान अधिकृत यादवले बताए ।
यस्तै क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार सभापति पदमा पोषण केसी र माधवराम खत्री (ढकाल), सचिवमा खुम बस्नेत, जयश्वर पौडेल, बजारु थारु र लालबहादुर राना तथा सहसचिवमा दिपेन्द्र उप्रेती, देवनारायण काफ्ले, रामबहादुर रावत र हरिशंकर पाण्डेको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रका लागि २४ जनाको कार्यसमितिमा ४८ र २५ जनाको महाधिवेशन प्रतिनिधी पदमा ५० जनाको उम्मेदवारी दर्ता भएको खत्रीले बताए । कोहलपुरस्थित भेरी सितभण्डारमा बिहान ९ बजेबाट मतदान सुरु हुने उनले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर २ मा पनि सभापति पदमा रमेशकुमार गुप्ता र विरेन्द्र शाहको उम्मेदवारी दर्ता भएको छ । सचिवमा आशिस वर्मा, प्रदिप साहु, बुद्धिसागर सुवेदी र सुनिलसिंह हमालको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।
यस्तै सह-सचिवमा ओमप्रकाश चौहान, तरुण बज्राचार्य, रमेश तिमिल्सिना र सविर खाँले उम्मेदवारी दिएका छन् । क्षेत्रीय कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधीमा पनि उम्मेदवारी परेको छ । उनका अनुसार बिहीबार बिहान ९ बजेबाट स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतदान सुरु हुनेछ ।