नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर २ को सभापति पदका लागि रमेश गुप्ता र विरेन्द्र शाहबीच प्रतिस्पर्धा हुदैछ । उनीहरु दुबै जना संस्थापन(देउवा) पक्षका हुन् ।
संस्थापन पक्षले गुप्तालाई आफ्नो आधिकारिक उम्मेदवारका रुपमा अगाडी सारेको छ, भने शाहलाई संस्थापन इतर पक्षले समर्थन गरेको छ । क्षेत्र नम्बर २ मा संस्थापन पक्ष बलियो देखिन्छ । हालै सम्पन्न बाँके प्रदेश सभा २ (क) र (ख) तथा नेपालगन्ज उपमहानगरपालिकामा संस्थापन पक्षका उम्मेदवार प्यानलसहित निर्वाचित भएका थिए ।
गुप्ता पुनः सभापतिको उम्मेदवार बनेपछि शाहले गुटभन्दा बाहिर गएर उम्मेदवारी दिएका हुन् । शाहलाई संस्थापन पक्षकी कांग्रेस बाँकेका सभापति किरण कोइराला, संस्थापन पक्षका नेता राजकुमार बर्मा र पुर्वसभासद अब्दुल हमिद सिद्धिकीको साथ र समर्थन छ । गुप्ताको पक्षमा भने एक दर्जन बढी नेता उभिएका छन् ।
संस्थापन पक्ष निकट कांग्रेस बाँकेका पुर्वसभापति एवम् पुर्वमन्त्री गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, जिल्ला उपसभापति सुनिल नरसिंह राणा, बाँके प्रदेश सभा २(क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, प्रदेश सभा २ (ख)का सभापति जितेन्द्रबहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका सभापति प्रशान्त विष्ट, नेपाली कांग्रेस बाँकेका पुर्वजिल्ला सचिव रविन्द्र हमाल लगायत नेता गुप्ताको पक्षमा उभिएका छन् ।
नगर सभापति विष्टले क्षेत्र नम्बर २ का अधिकांस नेता, कार्यकर्ताको साथ र समर्थन रमेश गुप्तालाई नै भएको बताए । ‘कांग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौंर दाईले समेत रमेश गुप्तालाई नै जिताउन सबैलाई निर्देशन दिइसक्नु भएको छ, हामी सबै नेता कार्यकर्ता रमेश गुप्तालाई जिताउने अभियानमा छौं,’ उनले भने ।
पुर्वसभासद अब्दुल हमिद सिद्धिकी क्षेत्र नम्बर २ मा प्यानल बनेपनि पार्टीभित्रको चुनावमा केही भन्न नसकिने बताउँछन् । ‘दुई वटा प्यानल बनेका छन्, सबै कांग्रेसकै उम्मेदवार हुन्, यो पार्टीभित्रको प्रजातान्त्रिक प्रक्रिया हो,’ उनले भने ‘प्यानल बनेको हुँदा साथीहरु अहिले मात्र विभाजित भएका हुन्, हामी विरेन्द्र शाहको प्यानललाई जिताउने अभियानमा छौं ।’
गुप्ताले सचिवमा प्रदिप साहु र सुनिलसिंह हमाललाई समेटेका छन् । यस्तै सह-सचिवमा तरुण बज्राचार्य र सविर खाँलाई राखेका छन् । शाहले आफ्नो प्यानलमा सचिव पदमा संस्थापन इतर पक्षका बुद्धिसागर सुवेदी र आशिष बर्मालाई राखेका छन् । यस्तै सह-सचिवमा रमेश तिमिल्सिेना तथा ओमप्रकाश चौहान उम्मेदवार बनाएका छन् । क्षेत्र नम्बर २ का मतदान अधिकृत एवम् अधिवक्ता गोपाल गिरीका अनुसार बिहीबार बिहान स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतदान सुरु हुदैछ ।