नेपालगन्ज : नेपाली कांग्रेसका नेता एवम् पुर्वसभासद बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् । नेता कुर्मीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरेका हुन् ।
उनी शुक्रबार नै बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधी (खुल्ला) मा निर्वाचित भएका थिए । कांग्रेसको जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य र कम्तिीमा १० वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने ब्यवस्था छ ।
सभापति पदका लागि आफु संस्थापन पक्षबाट सर्वसम्मत रुपमा उम्मेदवार बन्ने ठोकुवा गरे । ‘कांग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा कांग्रेसलाई जिताउन मैले नेतृत्व गर्नेछु, यस पटक पार्टीको जिल्ला निर्वाचनमा हाम्रो टिम(संस्थापन पक्ष) बाट एक जना मात्र उम्मेदवार हुन्छ, त्यो उम्मेदवार भनेको म नै हो,’ उनले भने ।
आफु पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट सभापतिमा लड्न लागेको बताए । संस्थापन इतर पक्षबाट पनि कोही साथीहरु उम्मेदवार बन्नु हुन्छ होला, त्यो उहाँहरुको कुरा हो,’ कुर्मीले भने ‘हाम्रो टिमबाट सभापतिको उम्मेदवारका सन्र्दभमा विवाद छैन ।’ पार्टीमा लामो समयदेखी राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालिन संविधान सभामा समानुपातिक सभासद भएका थिए ।
२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उनी तत्कालिन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित भएका थिए । नेता कुर्मीले उम्मेदवारी घोषणा गर्ने क्रममा बाँकेस्थित नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मासहित नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
भिडियो हेर्नुस् :