नेपालगन्ज : पश्चिम नेपालको अति ब्यस्त रहने बिमानस्थल हो, नेपालगन्ज बिमानस्थल । उक्त बिमानस्थल स्तरोन्नतीको काम अहिले चलिरहेको छ । बिमानस्थल स्तरोन्नतीका लागि २० बर्षे गुरुयोजना स्वीकृत गरिसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणले पुर्बाधार निर्माणको काम अगाडी बढाएको हो ।
अन्र्तराष्ट्रिय मापदण्ड अनुसारका पुर्बाधार पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा सम्पन्न गर्ने प्राधिकरणको योजना छ । गुरुयोजना अनुुसारका सबै पुर्वाधार सम्पन्न गर्न प्राधिकरणले कुल १२ अर्बको लागत स्टिमेट गरिसकेको छ । बिमानस्थल स्तरोन्नती अन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङ स्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ । उक्त एप्रोनमा करिव ८ वटा ठुला जहाज एकै पटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँछन् ।
यस्तै बिमानस्थलको २ सय मिटर रनवे बिस्तार गरिएको छ । हाल बिमानस्थलको १५ सय मिटर रनवे रहेकोमा २ सय मिटर बिस्तार गरिएको हो । प्राधिकरणका निर्देशक एवम् इन्जिनियर प्रदिप अधिकारीका अनुसार २ सय मिटर रनवे विस्तारको काम आगामी असार मसान्तभित्र पूर्ण रुपले सम्पन्न हुनेछ । उनले भने, ‘दुई सय मिटर रनवे बिस्तारको काम अन्तिम चरणमा पुगेको छ, आगामी असार मसान्तभित्रमा सम्पन्न हुन्छ ।’
गुरुयोजना अन्तर्गत बिमानस्थल परिसरमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको टर्मिनल भवन निर्माणको प्रक्रिया अहिले अगाडी बढाइएको छ । आर्थिक वर्ष २०७७/७८ बाटै काम सुरु गर्ने गरी टर्मिनल भवन निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढाइसकेको निर्देशक अधिकारीले जानकारी दिए ।
‘नेपालगन्ज बिमानस्थल स्तरोन्नती अन्र्तगत एप्रोन तयार भइसक्यो, दुई सय मिटर रनवे पनि लगभग तयारी अवस्थामा छ, अब छिट्टै टर्मिनल भवन निर्माणको काम अगाडी बढाइनेछ,’ उनले भने ‘कोभिडको संक्रमण अलि कम भएपछि टर्मिनल भवन निर्माणको काम अगाडी बढ्छ ।’ प्राधिकरण स्रोतका अनुसार हाल नेपालगन्ज बिमानस्थलको टर्मिनल भवन २ हजार स्क्वाएर रहेको छ । नयाँ बन्ने टर्मिनल भवन करिव ८ हजार स्क्वाएरको बन्नेछ, जुन अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको हुनेछ ।
निर्देशक अधिकारीले करिव २ अर्ब रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण हुने जानकारी दिए । गुरुयोजना अन्तर्गत बिमानस्थलको जग्गा अधिग्रहणको काम भने तत्कालका लागि स्थगित भएको उनले सुनाए । सन् २०२३ सम्म बिमानस्थल स्तरोन्नतीका मुख्य काम सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य छ ।
बिमानस्थलसँग हाल १ सय ६६ विघा जग्गा उपलब्ध रहेकोमा स्तरोन्नतीका लागि बढाएर २ सय ८८ विघा जग्गा आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । बि.सं. २०३० माघ ३१ गते बाँकेको साविक मनिकापुर गाविसस्थित राँझामा नेपालगन्ज बिमानस्थल निर्माण कार्य सुरु गरिएको थियो । बिमानस्थलको भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न भएपछि २०३७ बाट नेपालगन्ज बिमानस्थलले औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
नेपालगन्ज बिमानस्थलबाट काठमाडौं तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लामा गरी दैनिक रुपमा २ हजार भन्दा बढी यात्रुले हवाई सेवा लिइरहेका छन् । उक्त बिमानस्थलबाट हाल नेपालगन्ज–काठमाडौं रुटमा दैनिक १० वटा नियमित उडान भइरहेका छन् ।
यस्तै लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा दैनिक ४ देखी ८ वटा उडान हुने गर्छन् । यसैगरी विगत एक महिनादेखी नेपालगन्ज–पोखरा रुटमा पनि चार्टर उडान हुन थालेको छ । बिमानस्थल कार्यालयका प्रमुख सुवास झा स्तरोन्नती भएपछि नेपालगन्जबाट अन्र्तराष्ट्रिय उडान गर्न पनि सहज हुने बताउँछन् ।
‘नागरिक उड्ययन प्राधिकरणको छुट्टै निकायले नेपालगन्ज बिमानस्थल स्तरोन्नतीको काम थालिरहेको छ,’ उनले भने ‘एप्रोन निर्माण भईसक्यो, दुई सय मिटर रनवे पनि निर्माण अन्तिम चरणमा छ, अब टर्मिनल भवन बन्ने हो ।’ बिमानस्थलको टर्मिनल भवन सानो हुँदा हाल यात्रुको ब्यवस्थापन गर्न समस्या भईरहेको बताउँदै झाले भने, ‘अब नयाँ टर्मिनल भवन बनेपछि धेरै स्पेश हुन्छ ।’
बिमानस्थलका लागि रनवे, एप्रोन तथा टर्मिनल भवन मुख्य पुर्वाधार रहेको र यि पुर्वाधार बनिसकेपछि अन्र्तराष्ट्रिय उडान गर्न लायक हुने उनको भनाई छ । बिमानस्थलको स्तरोन्नती र नेपालगन्ज–दिल्ली उडानका लागि यहाँका सरोकारवालाले पटक–पटक दवाव सिर्जना गर्दै आएका छन् । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, उद्योगी, ब्यापारी, नागरिक समाज लगायतले यसका लागि विभिन्न समिति नै बनाएका थिए ।
अहिले बिमानस्थल स्तरोन्नतीको काम हुन थालेपछि यहाँका सरोकारवाला निकाय खुसी छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा यात्रुको बढी चाप हुने काठमाडौंपछिको दोस्रो नेपालगन्ज बिमानस्थलको स्तरोन्नती अति आवश्यक रहेको बताउँछन् ।
‘नेपालगन्ज बिमानस्थलको स्तरोन्नती आवश्यक छ, जुन काम अहिले भइरहेको छ,’ उनले भने ‘बिमानस्थललाई आवश्यक पर्ने भौतिक पुर्वाधार बनाइसकेपछि नेपालगन्ज-दिल्ली उडान गर्नुपर्छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिमानस्थलको स्तरोन्नती भएपछि यहाँबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उडान गर्न सहज हुने बताए । ‘हामीले त नेपालगन्जदेखी दिल्ली उडान गर्नुपर्यो भनेर पहिल्यैदेखी माग गरिरहेका छौं, अब बिमानस्थलको स्तरोन्नती भएपछि त सरकारले उडान गर्नैपर्ने हुन्छ ।’
विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज बिमानस्थलको स्तरोन्नती हुने बित्तिकै यहाँको पर्यटन क्षेत्रको प्रर्वद्धन हुने विश्वास गरे । ‘बिमानस्थल स्तरोन्ती हुने बित्तिकै जहाजको चाप बढ्छ, त्यसपछि पर्यटकहरुको आवत–जावत स्वभाविक रुपले बृद्धि हुन्छ,’ पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक समेत रहेका श्रेष्ठले भने । बिमानस्थलको क्षमता बिस्तार भएपछि नेपालगन्जबाट आन्तरिक र बाह्य उडान गर्न सकिने उनको विश्वास छ ।