नेपालगन्ज : हुलाक सेवा विभागले बुधबारबाट सेवा ग्राहीको माग र समयको गतिसँगै हुलाक सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन द्रुत डाँक सेवा सुरु गरेको छ । काठमाडौंबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी तथा नेपालगन्जबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पामा हवाई मार्गमार्फत द्रुत डाँक सेवा सुरु गरेको हो ।
हवाई द्रुत डाँक सेवाको लागि विभागले श्रीएयर तथा समिट एयरसँग डाँक ढुवानी सम्झौता समेत गरेको छ । हवाई द्रुत डाँक सेवा अन्तरगत जिल्ला हुलाक कार्यालय बाँकेको काउन्टरमा प्रत्येक दिन १ बजेसम्म द्रुत डाँक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोहीदिन ४ बजे श्रीएयरमार्फत काठमाडौँ पुर्याएर सोही दिन गोश्वारा हुलाकको सवारी साधनबाट संकलन गरी २४ घण्टाभित्र प्रापक सेवाग्राहीको हातमा पुग्ने गरी छिटो, छरितो तथा भरपर्दो संकलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाइएको छ ।
हवाई द्रुत डाँक सेवामार्फत चिट्ठीपत्रका साथै अन्य सामाग्री समेत पठाउन सकिने जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिए । ‘यसरी दर्ता भएका बस्तुहरु हुलाक सेवाको सवारीमार्फत प्रापकको ठेगानासम्म छरितो होम डेलिभरीको व्यबस्था गरिएको छ,’ उनले भने ।
हुलाकको सेवालाई व्यवसायिकरण तथा विविधिकरण गर्दै प्रभावकारी बनाउन आउँदा दिनमा यो सेवालाई सबै जिल्लामा बिस्तार गरिनुका साथै छिमेकी मुलुक भारत तथा जापान जस्तै नेपालमा समेत पोष्ट र कमर्सियल सेवाहरु पनि सञ्चालन गर्ने तयारी भइरहेको हुलाक अधिकृत पाण्डेले बताए ।