नेपालगन्ज : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार (आज) सात वटै प्रदेशमा प्रदेश अधिवेशन हुदैछ । देश संघीय संरचनामा गएपछि पहिलो पटक कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुन लागेको हो ।
प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ । यसका लागि सबै प्रदेशमा कांग्रेसले केन्द्रीय नेता खटाएको छ । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई खटाएको छ । यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई प्रदेश अधिवेशन गर्न जिम्मा दिइएको छ ।
प्रत्येक प्रदेशमा सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री रहने व्यवस्था गरिएको छ । प्रदेश अधिवेशनबाट पदाधिकारीसँगै प्रदेश सदस्यले चयन हुनेछन् । कोषाध्यक्ष भने पछि मनोनयन गरिने भएको छ ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता रहनेछन । सबै प्रदेशमा एकै पटक बिहीबार अधिवेशन उद्घाटन हुनेछ । शुक्रबार प्रदेश पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दर्ता र शनिबार चुनाव हुने कार्यतालिका रहेको छ ।