नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनबाट संशोधित विधान पारित गर्दै बिहीबार बेलुकासम्म निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी छ ।
उक्त महाधिवेशनमा वर्तमान पार्टी अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने देखिएको छ । राप्रपाको महाधिवेशनमा बाँकेबाट अहिलेसम्म ४ जना नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डा. धवलसम्शेर राणाले नेता राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिदैछन् ।
यस्तै युवा नेता ऋषिराज देवकोटा र नेतृ मिना श्रेष्ठले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । देवकोटाले केन्द्रिय सदस्य(खुल्ला) र श्रेष्ठले केन्द्रिय सदस्य महिला(खुल्ला) मा उम्मेदवारी दिन लागेका हुन् । उनीहरु केहीदिन देखी आफ्नो प्रचार प्रसारमा ब्यस्त छन ।
यसैगरी कमल थापाको प्यानलबाट नेता हिक्मत ढकालले केन्द्रिय सदस्य (खुल्ला) मा उम्मेदवारी दिने निश्चित भइसकेको छ । ढकालले पनि आफ्नो प्रचार प्रसार सुरु गरिसकेका छन् । यस्तै मधेसी, जनजाती, महिला, दलित लगायत समानुपातिक कोटाबाट दुबै प्यानलको तर्फबाट बाँकेका अन्य नेताले पनि उम्मेदवारी दिने सम्भावना रहेपनि अहिलेसम्म टुंगो नलागेको नेताहरु बताउँछन् ।
युवा नेता देवकोटाले लिङ्देनको प्यानल धेरै बलियो रहेको बताए । ‘राजेन्द्र लिङ्देनले नेतृत्व गर्नु भएको प्यानलबाट मैले पनि केन्द्रिय सदस्य(खुल्ला)मा उम्मेदवारी दिदैछु, आशा एवम् विश्वास छ, मैले पार्टीमा गरेको योगदानको साथीहरुले कदर गर्नुहुनेछ,’ उनले भने । बाँकेमा रहेका राप्रपाका नेताहरु दुबै प्यानलमा देखिएका छन् । पार्टीका नेता डा. धवलसम्शेर राणा, ऋषिराज देवकोटा, ओमप्रकाश आजाद, मिना श्रेष्ठ राजेन्द्र लिङ्देनको प्यानलमा खुलेरै लागेका छन् ।
यसैगरी पुर्वमन्त्री एवम् राप्रपाका नेता प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु तथा हिक्मत ढकाल कमल थापाको प्यानलमा छन् । राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल भने कतै खुलेका छैनन् ।
राप्रपाका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी श्रीधर सुवेदीले बाँकेबाट महाधिवेशनमा प्रतिनिधित्व गरेका ८५ जना मध्ये करिव ६ जनाले मात्र अध्यक्षमा लिङ्देनलाई भोट हाल्ने र बाँकी भोट सबै थापाले पाउने बताए । ‘बाँकेबाट उठेको हुनाले महामन्त्रीमा धवल दाईलाई भोट हाल्छन्, नत्र अध्यक्षको भोट कमल थापालाई नै जाने स्थिती देखिन्छ,’ उनले भने । बाँकेबाट करिव ९० प्रतिशत भोट थापाले पाउने सुवेदीको दाबी छ ।
राप्रपाको महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनबाट अध्यक्ष, ४ जना उपाध्यक्ष, ३ जना महामन्त्री गरी ८ पदाधिकारी सहित १ सय ९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । यस्तै ४ उपाध्यक्ष, ३ महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।
यो पनि पढ्नुस् :
राप्रपा महाधिवेशनको बन्दसत्रमा कार्यपत्रमाथि छलफल
कमल थापालाई कार्यकारिणी भूमिका दाबी नगर्न लिङ्देनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजबाट सुरू हुँदै
पार्टी अध्यक्षमा कमल थापाद्वारा उम्मेदवारीको घोषणा