नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारबाट देशभरका ७ वटै प्रदेशमा अधिवेशन सुरु भएका छन् । अधिवेशनले प्रदेशमा नयाँ पदाधिकारी तथा कार्यसमिति निर्वाचित गर्नेछ ।
लुम्बिनी प्रदेशमा हुन लागेको कांग्रेसको निर्वाचनले यतिखेर सबैको ध्यान तानेको छ । अधिवेशनमा सहभागी हुन लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लाबाट प्रतिनिधीहरु बुटवल पुगिसकेका छन् । बुटवलमा कांग्रेसको चुनावी सरगर्मी बढेको छ । चुनावले निकै रौनकता छाएको छ ।
लुम्बिनी प्रदेशमा संस्थापन (देउवा)र संस्थापन इतर (कोइराला/पौडेल) पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन इतर पक्षबाट अमरसिंह पुन र संस्थापन पक्षबाट भरतकुमार शाहबीच प्रतिस्पर्धा हुदैछ । संस्थापन इतर पक्षले लुम्बिनी प्रदेश सभापतिमा पुनसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाइसकेको प्रदेश सांसद एवम् कांग्रेस नेता शंकर गिरीले जानकारी दिए । ‘संस्थापन इतर पक्षका सभापति सहित पदाधिकारीको टुंगो लागिसक्यो, अब कार्यसमितिको बेलुकासम्म टुंगो लाग्छ होला,’ नेता गिरीले टेलिफोनमा भने ।
उक्त पक्षले उप–सभापतिमा भुवनप्रसाद श्रेष्ठ(गुल्मी) र अष्टभुजा पाठक(रुपन्देही), महामन्त्रीमा विक्रम खनाल(नवलपरासी) र सुरेन्द्रराज आचार्य(कपिलबस्तु)लाई उम्मेदवार बनाएको छ । यस्तै एक महिलासहित ३ जना सह–महामन्त्रीमा खगराज पाण्डे(दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)लाई उम्मेदवार बनाएको छ । संस्थापन पक्षले सभापति बाहेक अन्य पदको अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमालले उम्मेदवारको टुंगो लगाउन संस्थापन पक्षका नेताहरु छलफलमै ब्यस्त रहेको बताए । ‘सभापति पद बाहेक अन्य कुनैपनि पदमा उम्मेदवारको टुंगो लागेको छैन,’ उनले टेलिफोनमा भने । लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट तपाईलाई पदाधिकारीको उम्मेदवार बनाउने चर्चा छ नि ? भन्ने प्रश्नमा हमालले भने, ‘म लुम्बिनी प्रदेशमा उम्मेदवार हुदैन, बाँकेमै जिल्ला सभापतिको उम्मेदवार हुन्छु ।’
संस्थापन पक्षबाट लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका शाह संसदको सार्वजनिक लेखा समिति सभापति हुन् । उनी रुपन्देहीका सांसद हुन् । संस्थापन इतरबाट लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका पुन नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् । निर्वाचन कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा शुक्रबार(भोली) उम्मेदवारी मनोनयन दर्ता र शनिबार मतदान हुनेछ ।