नारायण वली
रुपन्देही : नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति पदाधिकारी चयनका लागि बिहीबार रुपन्देहीको भैरहवामा पहिलो अधिवेशन सुरु भएको छ । पार्टी भित्रका २ वटा गुटले उम्मेदवारी घोषणा गरेका छन् । जारी पार्टीको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा वडा तहदेखि जिल्ला सम्म संस्थापन(देउवा) र संस्थापन इतर( कोइराला पौडेल) पक्षले अधिकांश स्थानमा छुट्टा–छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
प्रदेश अधिवेशनमा पनि दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका संघीय सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमरसिंह पुनले उम्मेदवारी घोषणा गर्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन । नेता पुन, वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रोल्पाका निर्वतमान जिल्ला सभापति समेत हुन् ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये बाँके बाहेक ११ वटा जिल्लाको अधिवेशन सकिएका छन् । त्यसमध्ये रुपन्देही र बर्दिया बाहेक ९ वटा जिल्लामा संस्थापन इतरले जिल्ला सभापति हात परेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले जित्न सफल भएको छ । जिल्ला अधिवेशनको अंक गणितलाई हेर्ने हो भने, इतर पक्षका नेता पुनले प्रदेश सभापतिमा जित्ने सम्भावना देखिन्छ ।
झण्डै १ हजार ६ सय मतदाता रहेको लुम्बिनी प्रदेशमा आफूले भारी मतान्तरले जित हात पार्ने ईतर पक्षका नेता पुनको भनाई छ । उनले वर्तमान नेतृत्वले पार्टीलाई उचित ढंगबाट चलाउन नसकेकाले पार्टीलाई बीपी कोइरालाको विचार, सिद्धान्त, विधि र पद्धति अनुसार सञ्चालन गर्नका लागि आफुले उम्मेदवारी दिएको स्पष्ट पारे । नेता पुन पूर्वसंविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री हुन् ।
यता रुपन्देही क्षेत्र नम्बर ५ बाट लगातार तीन पटक निर्वाचन जितेर सांसद बनेका भारतकुमार शाह प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापन पक्षका मानिन्छन् । संस्थापन इतर पक्षले जिल्ला अधिवेशनमा धेरै जिल्लामा सभापति पदमा जितेपनि आफूले गुटगत राजनीति नगर्ने भन्दै पार्टीमा रहेको गुटगतलाई मिलाएर पार्टी सञ्चालन गर्ने क्षमता भएकाले प्रदेशमा आफ्नो जित सुनिश्चित जस्तै भएको नेता शाह दावी गर्छन् । शाह संसदको लेखा समितिका सभापति पनि हुन् ।
क्षेत्रीय अधिवेशन देखि नै गृह जिल्ला रुपन्देहीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण प्रदेश अधिवेशनको संयोजक छन् । संस्थापन पक्षले प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने रणनीति बनाएको स्रोतले बताएको छ । जिल्ला अधिवेशनलाई अंक गणितीय रुपमा हेर्दा संस्थापन इतर पक्ष बलियो भएकाले चुनावमा जाँदा संस्थापन पक्षले हार्ने सम्भावना देखिन्छ ।
त्यसैले संस्थापन पक्ष संस्थापन इतर पक्षसँग पदको भागवण्डा समायोजन गरेर शाहलाई नै सर्वसम्मत रुपमा सभापति बनाउने रणनीतिमा लागेको स्रोतले जनाएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले बिहीबार साँझ सम्म मतदाता नामावली प्रकाशन हुने जानकारी दिएका छन् ।
यो पनि पढ्नुस् :
लुम्बिनी प्रदेशमा कांग्रेसको चुनार्वी सरगर्मी