दीपकलाल श्रेष्ठ
बर्दिया : बर्दिया प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा 'बाँके-११ क्रिकेट टिम' ले स्टार क्रिकेट एकेडेमीमाथि ७२ रनको जित निकालेको छ । लगातार तेस्रो जित निकालेको बाँके समूह ए को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ, भने ३ खेलमा २ जित निकालेको स्टार क्रिकेट एकेडेमी पनि सेमी फाइनलमा प्रवेश गरेको छ ।
गुलरियाको कबर्ड हाल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेका बाँके ११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै १४७ रन जोडेका थिए । बाँकेका सुरुवाती ब्याटिङ गरेका प्रनित थापा मगर र रोहन केसी बिच ४१ रनको साझेदारी भएको थियो । त्यसपछि नियमित विकेट गुमाए पनि राहुल शर्मा र बिश्वास श्रेष्ठले सानदार ब्याटिङ गर्दा बाँकेले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
बाँकेका प्रनितले १६ बलमा ३५ रन जोडे। प्रनितले ४ चौका र ३ छक्का प्रहार गरे। मिडल अडर ब्याट्सम्यान राहुल शर्माले १८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । साथै विश्वास श्रेष्ठले १७ बलमा २३ रन जोडे । स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए ।
सुरजले अमर सिंह रौटेला र सिद्धान्त साहीको विकेट हात पारेका थिए । पुरु , बाबुराम र तुल बहादुर थापाले सम्मान १ र१ विकेट लिए । एक सय ४८ रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङका लागि आएको स्टारले निर्धारित १२। ओभरमा सबै विकेट गुमाउदै मात्र ७५ रन जोड्यो।
स्टारले आफ्नो पहिलो ओभरकै पहिलो बलमै अनिल थापालाई शून्य रनमै गुमाएको थियो । अर्का सुरुवाती ब्यटर मनिष थापाले १५ बलमा २१ रन जोडे। साथै अमर मिश्रले २६ बलमा २० रन जोडे । अन्य ब्यटरको भने सम्झन लायक प्रदर्शन रहेन । स्टारलाई सस्तोमा रोक्न बाँकेका तिब्र गतिका बलर गौतम कनोजियाले २.५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए ।
साथै राहुल शर्माले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । घातक बलिङ गरेका गौतम खेलको म्यान अफ द म्याच गौतम कनोजिया भए । प्रतियोगितामा देशभरका कुल ८ टोलीको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूहमा बिभाजन गरिएको छ ।
समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ क्रिकेट टिम रहेका छन । साथै समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् । हरेक टोलीले आफ्नो समुहको टोलीसँग एक आपसमा खेल्ने छन ।
समूह चरणको खेल मंसिर १९ गते सम्म हुनेछ र सेमीफाइनल मङ्सिर २० गते रहेको छ भने फाइनल २१ गते हुनेछ । नयाँ शिरा युवा क्लब बर्दियाले स्वर्गीय बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना गरेको क्लबका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । जिल्लामा पहिलो पटक ठुलो पुरस्कार राशीको क्रिकेट लिग रहेको र प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ र दोस्रोलाई ५१ हजार रूपैयाँ पुरस्कार रासी रहेको चन्दले बताए ।