नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचनका लागि संस्थापन(देउवा) पक्षले सभापतिसहित पदाधिकारी उम्मेदवारको नाम टुंगो लगाएको छ । उक्त पक्षले सभापति पदमा भने यसअघि नै रुपन्देहीका भरतकुमार शाहको नाम टुंगो लगाएको थियो ।
संस्थापन पक्षबाट उप-सभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सह-महामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, बाँकेकै माया पुन र रुपन्देहीकी सरिता चौधरीलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो । संस्थापन पक्षले लुम्बिनी प्रदेश कार्यसमिति सदस्य उम्मेदवारको नाम भने अझै टुंगो लगाएको छैन ।
कार्यसमिति सदस्यको नाम टुंगो लगाउन अहिले छलफल भइरहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले जानकारी दिए । ‘अहिले हामी छलफलमै छौं, आज रातीसम्म सबै उम्मेदवारको नाम टुंग्याउने तयारी छ,’ उनले भने । संस्थापन पक्षबाट उम्मेदवारको नाम टुंगो लगाउन कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाण, केन्द्रिय सदस्य किशोरसिंह राठौर, पुष्पा भुसाल, नेता देवेन्द्रराज कँडेल छलफलमा छन् ।
कांग्रेसको संस्थापन इतर (कोइराला/पौडेल) पक्षले भने बिहीबार दिउँसो नै पदाधिकारीको नाम टुंगो लगाइसकेको थियो । संस्थापन इतर पक्षबाट अमरसिंह पुन सभापति पदको उम्मेदवार भएका छन् । उक्त पक्षबाट उप-सभापतिमा भुवनप्रसाद श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही), महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलबस्तु) तथा सह-महामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) उम्मेदवार भएका छन् । संस्थापन इतर पक्ष पनि लुम्बिनी प्रदेश कार्यसमिति सदस्यको नाम टुंगो लगाउने अन्तिम कसरतमा जुटेको छ । संस्थापन इतर पक्षबाट केन्द्रिय सदस्य चन्द्र भण्डारी, दीपक गिरी लगायत नेता सक्रिय छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार (भोली) उम्मेदवारी मनोनयन दर्ता र शनिबार मतदान हुनेछ । उम्मेदवारको मनोनयन पत्र दर्ता शुक्रबार बिहान ८ बजेदेखी ११ बजेसम्मका लागि तोकिएको छ । यस्तै मतदान शनिबार बिहान ८ बजेदेखी सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
यो पनि पढ्नुस् :
लुम्बिनीमा शाह र पुनको कडा प्रतिष्पर्धा, सर्वसम्मत गराउने रणनितिमा संस्थापन
लुम्बिनी प्रदेशमा कांग्रेसको चुनार्वी सरगर्मी
सातै प्रदेशमा आज कांग्रेसको प्रदेश अधिवेशन