निमबहादुर चलाउने ‘निरज’
वडाअध्यक्ष, कोहलपुर नगरपालिका १०
तपाईको वडामा कस्ता योजना सम्पन्न हुदैछन् ?
मैले चाहेको त सामाजिक रुपमा जनचेतनाको विकास गर्ने हो । अहिले समाजलाई सबैभन्दा जरुरी देखेको पुर्वाधारको विकास देख्ने भएको हुनाले केही पुर्वाधारका योजना पनि सम्पन्न भईरहेका छन् । मेरो वडामा मैले दिगो विकास, दिगो रुपमा रहन सक्ने खालको विकास गर्ने योजनामा छु ।
जनताको काम गर्दाखेरी कस्तो अनुभुति भईरहेको छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अहिले जनप्रतिनिधीले काम गर्नुपर्ने अवस्था छ । विगतको स्थानीय तहभन्दा अहिलेको स्थानीय तहको काम गर्ने शैली फरक छ । विकासका योजना वितरण गर्ने शैली पनि फरक छ र अधिकारहरु पनि फरक छ ।
त्यसकारण हामीले सबभन्दा पहिला के बुझ्नुपर्छ भने स्थानीय सरकार सञ्चालन ऐनको भावना के हो ? यसले बनाउन खोजेको के हो ? दलगत एक रुपता, दलगत सहमती भनेको के हो ? र विकासका लागि कुन कुन निकायहरु एक रुपता भएर सहकार्य गरेर अगाडी बढ्नुपर्छ भन्ने हामीले बुझ्न सकेनौं भने फस्ने भनेको त्यही निर हो ।
कोहलपुर नगरपालिकाले गरेका कतिपय निर्णय किन विवादित हुन्छन् ?
जनप्रतिनिधी भएर आईसकेपछि सही कुराको वकालत गर्नुपर्छ । सहीलाई सही र गलतलाई गलत भनेपछि मात्र पारदर्शिता हुन्छ । जनप्रतिनिधी भएर आईसकेपछि सत्य कुरा मात्र बोल्ने र गलत कुरा नबोल्नका निम्ति जनताले चुनेको हो, हामीलाई ।
कोहलपुर नगरपालिकामा पछिल्लो चरणमा हेर्दा त्यस्तो खालको केही कमी भयो कि भन्ने हामीलाई लागिराखेको छ । हामीले कार्यपालिकाको बैठक, विभिन्न नगर सभा र विभिन्न मिडियामार्फत खबरदारी गरेका छौं । त्यो खबरदारीले कोहलपुरका आम नागरिकलाई सहजता होस् । विकासमा सहजता होस् । नेतृत्व गर्नेले पनि सबै कुरा बुझ्नुपर्ने हुन्छ । प्रमुखले ल्याएको सबै एजेण्डा पास भयो भने त्यहाँ लोकतन्त्रको सुगन्ध देखिदैन ।
सही कुरालाई सही भनेर सर्मथन गर्नुपर्छ, तर गलत कुरालाई खण्डन गर्ने र खबरदारी गर्न सकेनौं भने हामीलाई मत दिएर पठाउनु भएका मतदाताको अवमुल्यन हुन्छ । कोहलपुर नगरपालिकामा सबै गलत भएको छ भन्ने पनि होईन, धेरै कुराहरु सही भएको होला, केही कुरा गलत भएका छन् ।
जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न कत्तिको सम्भव छ ?
जनताका प्रतिवद्धता पुरा गर्नका लागि कोसिस गर्ने हो । हामी कति सकारात्मक छौं जनतासँग, उहाँहरुसँग कत्तिको जनमैत्री भएर ब्यवहार गर्न सकेका छौं, उहाँको सेवालाई कति प्रभावकारी ढंगले दिन सकेका छौं भन्ने कुरा हो । जनताका आधारभुत समस्याहरु थुप्रै हुन्छन् ।
थुप्रै कुराहरु पनि समाधान गर्ने जुन लक्ष्य हुन्छ, उसको ट्रयाक के छ भन्ने कुरामा जनताले विश्वास गर्नुहुन्छ भन्ने मलाई लाग्दछ । जनताप्रतिको उत्तरदायित्व पुरा गर्न म लागिरहेको छु ।
काम गर्ने क्रममा समस्या र चुनौती कत्तिको छन् ?
सबैभन्दा पहिले राजनीतिक चुनौती छ । मेरो वडामा झण्डै ७ हजार मतदाता संख्या छ । त्यसको झण्डै ७५ प्रतिशत मत खसेको थियो । मैले ४० प्रतिशत मत ल्याएर जितेको हुन सक्छु । तर, ६० प्रतिशत जनता बाहिर हुनुहुन्छ ।
आज म दिने ठाउँमा छु । जनताहरु अपेक्षा गर्ने ठाउँमा हुनुहुन्छ । मैले जनताको मन जितेर काम गर्नुपर्छ । जनताको भावना बुझेर काम गर्न सकेन भने म जनप्रतिनिधी हुन सक्दैन । सबैभन्दा समस्या त दलिय समस्या छ ।