सुर्खेत : नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको छ । कर्णाली प्रदेशको सभापति पदका लागि जुम्लाका ललितजंग शाही, कालिकोटका भुपेन्द्रजंग शाही र कालिकोटकै मोतिराज बमले सभापति पदमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
ललितजंग तत्कालिन संविधानसभाका सदस्य हुन् । यस्तै भुपेन्द्रजंग तरुण दलको महामन्त्री तथा बम महासमिति सदस्य हुन् । कर्णाली प्रदेशमा हुन लागेको निर्वाचनमा तीन जनाबीच कडा प्रतिस्पर्धा हुने कांग्रेस नेता, कार्यकर्ता बताउँछन् । तीन जना उम्मेदवार मध्ये कस्ले बाजी मार्ला ? भन्नेमा नेता, कार्यकर्ताले विभिन्न अड्कल गरिरहेका छन् ।
निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १ सय २८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिए । उप-सभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर विसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गरेका छन् ।
सह-महामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद छन् । कांग्रेसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक/एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार १२ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।