धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्र हो, सुदुरपश्चिम प्रदेश । यस प्रदेशमा नेपाली कांग्रेसको पहिलो पटक हुन लागेको निर्वाचनमा दुई उम्मेदवार बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पूर्व मन्त्री बीरबहादुर बलायर र जिल्ला विकास समिति कैलालीका पुर्वसभापति नारायणदत्त मिश्रबीच कांग्रेस सुदुरपश्चिम प्रदेश सभापतिकाका लागि कडा प्रतिस्पर्धा हुन लागेको हो । उक्त प्रदेशमा शनिबार मतदान हुदैछ । संस्थापन (देउवा) पक्षबाट बलायर र संस्थापन इतर (कोइराला/पौडेल) पक्षबाट मिश्रले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश उपसभापति पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । दुई उप-सभापतिका लागि गोपालसिंह गुरुङ, जनकराज चौधरी, रघुवर भट्ट, हिमबहादुर रावल, मनबहादुर रावल, लोकराज अवस्थी र पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई महामन्त्री पदका लागि नरनारायण शाह मनु, प्रताव गुर्धामी, रामबहादुर शाही र मेघराज खड्काले दर्ता गराए । एक महिलासहित ३ जना सह-महामन्त्री पदका लागि गोपालदत्त भट्ट, लक्ष्मणबहादुर शाही, डम्मरी महरा, हर्कबहादुर स्वाँर, चिन्तामणि भट्ट, अम्बिका चलाउने, पदमराज पन्त, नरेन्द्रप्रसाद भट्ट, खिमा भण्डारी र अम्बी कुमारी थापाले मनोनयन दर्ता गराएका छन् । दुबै पक्षले आफ्नो प्रचार प्रसारलाई तिब्र पारेका छन् ।
सभापतिका उम्मेदवार बलायरले सुदूरपश्चिमलाई कम्युनिष्टमुक्त बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘जसरी सुदूरपश्चिम कम्युनिष्टको चपेटामा परेको छ, अब त्यसलाई कम्युनिष्टमुक्त बनाउनका लागि मैले सभापतिमा उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
सभापतिका अर्का उम्मेदवार मिश्रले सुदुरपश्चिम क्षेत्रमा कांग्रेसको संगठन बलियो बनाउन आफुले उम्मेदवारी दिएको बताए । ‘कांग्रेसको संगठनलाई सुदुरपश्चिममा एक नम्बर बनाउने मेरो उम्मेदवारी हो,’ उनले भने ।