लुम्बिनी प्रदेश(बुटवल) : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचनका लागि दुई पक्षबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त प्रदेशको सभापतिसहित कार्यसमिति, पदाधिकारी जित्न कांग्रेसको संस्थापन(देउवा) र संस्थापन इतर (कोइराला पौडेल) पक्षले आ आफ्ना उम्मेदवारलाई मैदानमा उतारेका छन् ।
प्रदेश सभापतिका लागि संस्थापन इतर पक्षले अमरसिंह पुन र संस्थापन पक्षले भरतकुमार शाहलाई मैदानमा उतारेको छ । दुबै प्यानलले शुक्रबार उम्मेदवारी दर्ता गराइसकेका छन् । संस्थापन पक्षबाट उप-सभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सह-महामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, बाँकेकै माया पुन र रुपन्देहीकी सरिता चौधरीले शुक्रबार उम्मेदवारी दर्ता गराए ।
यस्तै संस्थापन इतर पक्षबाट उप-सभापति पदका लागि गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सह-महामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्यूठानकी निमा गिरीले उम्मेदवारी दर्ता गराएका छन् । दुबै पक्षबाट प्रदेश कार्यसमिति सदस्यले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दुबै पक्षका उम्मेदवारले मतदाता भेटघाटलाई तिब्रता दिएका छन् । कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनले यतिखेर बुटवल र भैरहवा क्षेत्रमा रौनकता छाएको छ । कांग्रेसका केन्द्रिय नेताहरु समेत आफ्नो पक्षका उम्मेदवारलाई जिताउन केहीदिन यता बुटवलमै बसिरहेका छन् । कांग्रेस केन्द्रिय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाण, दीपक गिरी, चन्द्र भण्डारी, किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल लगायत केन्द्रिय स्तरका नेताहरु बुटवलमा छन् ।
नेपाली कांग्रेसको विधान अनुसार प्रदेश सभापतिसहित २ जना उपसभापति, २ जना महामन्त्री र २ जना सह–महामन्त्री निर्वाचित हुने ब्यवस्था छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शनिबार (भोली) मतदान हुनेछ । बिहान ८ बजेदेखी मतदान सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।