नेपालगन्ज : भ्रष्टाचार विरुद्ध नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा यही मंसिर २३ गते बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा हुन लागेको कार्यक्रमको तयारीलाई थप तिब्रता दिइएको हो ।
बास केन्द्रीय कार्यसमिति र कार्यक्रम तयारीका लागि गठित विभिन्न समितिका संयोजक बीचमा संयुक्त बैठक गरिएको छ । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने उद्धेश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समन्वय तथा सहकार्य गर्ने बैठकले निर्णय गरेको छ ।
कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्ने गरी तयारीमा लाग्ने निर्णय बैठकले गरेको छ । भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।
बैठकमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, वाकाथन व्यवस्थापन तथा सुरक्षा समिति संयोजक जयनारायण शाह, समन्वय समिति संयोजक लुना बुढाथोकी, स्वयं सेवक समिति संयोजक शिवकुमार बर्मा, आर्थिक समिति संयोजक दिला शाह, समारोह ब्यवस्थापन समिति संयोजक कमल शाही, अभिलेखिकरण समिति संयोजक खेम बिष्ट, सचिवालय समिति संयोजक मन भण्डारी, सास्कृतीक समिति संयोजक महेन्द्र सेडाई, बासका निर्देशक हेमराज भट्ट, खानेपानी तथा सरसफाई संयोजक शोभा थापा मगर लगायतको बैठकमा उपस्थिती रहेको थियो ।
वाकाथन नेपालगन्जको विपी चोकबाट सुरु भई धम्बोझी चोक, सेतु बिक चोक हुदै, न्यूरोडमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता लगायतका गतिविधि हुनेछन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।