काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा निर्वाचित भएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले सर्वाधिक मत ल्याएका छन् । तीन महामन्त्रीको प्रतिस्पर्धामा राणाले सर्वाधिक २ हजार २ सय २१ मत ल्याएर विजयी भएका हुन् ।
उनी राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लडेका थिए । राप्रपाको आइतबार(आज) बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा लिङ्देनसहित केन्द्रिय पदाधिकारी तथा कार्यसमिति निर्वाचित भएका थिए । लिङ्देनले कमल थापालाई २ सय मत अन्तरले हराएका हुन् ।
कुल खसेको ३८६५ मतमध्ये लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत पाएका थिए । यस्तै ४३१ मत बदर भएको थियो । अध्यक्षमा थापाले चुनाव हारेपनि पदाधिकारीमा भने थापा पक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।
निर्वाचन परिणाम अनुसार अध्यक्षमा हारेपनि उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधरकै अधिकांश उम्मेदवार विजयी भए । राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डेले सर्वाधिक २५२१ मत पाएका छन् ।
थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र धु्रब प्रधान उपाध्यक्षमा विजयी भए । तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए । महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन । बाँकी दुई जना कमल थापा समूहका विजयी भए । थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन् ।
उनले २००८ मत प्राप्त गरिन् । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन् । राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो । सात सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता सहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ६५ जनाले मतदान गरेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५१४ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ । शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो । अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो ।