नेपालगन्ज : राष्ट्रिय बाघ सर्वेक्षण गणना आइतबारबाट शुभारम्भ हुँदैछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गर्न लागिएको हो । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जसहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गर्न लागिएको हो ।
देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा विशेष कार्यक्रमका बीच शुभारम्भ गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले यही मंसिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिने जानकारी दिए ।
यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्नेछ । उनका अनुसार बाघ गणना सम्पन्न गर्न करिव चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए ।
उनीहरुको प्रतिव्यक्ति १० लाख रुपैयाँको बिमा गरिएको छ, भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको छ । सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव सहितका उच्च अधिकारीको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गर्न लागिएको महानिर्देशक कँडेलले जानकारी दिए । बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १ सय २० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन । क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिनेछ । चितवनमा मात्र ३ सय ६० जोडी क्यामेरा जडान गरिनेछ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइनेछ ।
दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ । आधा मिटरको उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिनेछ । सन् २००८ देखि राष्ट्रिय स्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रोपटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र चौथोपटक अहिले बाघ गणना गर्न लागिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाँके र बर्दियामा एकैपटक मंसिर २९ गतेदेखी बाघ गणना कार्य सुरु हुने बताए । ‘चितवनबाट गणना कार्य सुरु भइसकेपछि मंसिर २९ गतेदेखी बाँके र बर्दियामा गणना गरिनेछ,’ उनले भने ।