काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन। नेकपा एमालेबाट निर्वाचित १२ सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै उनको पद धरापमा परेको हो ।
एमालेबाट निर्वाचित प्रदेश सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले आज एकीकृत समाजवादी०मा सनाखत गरेका छन् ।
खनाल अहिले प्रदेश सरकारमा सामाजिक विकास मन्त्री छन् । ११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । एमालेको सभामुखसहित ५६ सदस्य थिए । दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएकोले एक स्थान रिक्त छ । उनी एमालेबाट निर्वाचित भएका थिए ।
अब एमालेसँग ४४ सांसद छन् । नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहँदै आएकी शाक्यले पार्टी विभाजनमा उनलाई साथ दिइनन । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन । एमालेको एकल बहुमत रहेकाले उनी संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
उक्त धारा अनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत लिनुनपर्ने भए पनि उनले प्रतिनिधित्व गरेको दल विभाजित भएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनविद्हरू बताउँछन् । शाक्यले आफू पदका लागि नयाँ पार्टीमा नजाने बताउँदै आएकी छन् ।