हेटौडा : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेशमा भएको निर्वाचनमा सभापति पदमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर (कोइराला/पौडेल) पक्षका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतको अन्तरले हराउँदै संस्थापन (देउवा) पक्षका बानियाँ निर्वाचित भएका हुन् ।
केसी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । उक्त प्रदेशमा कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेकोमा बानियाँले १ हजार ८५ र केसीले ९२७ प्राप्त गरे ।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका थिए ।
बानियाँको राजनीतिक उतार चढाप :
ईन्द्रबहादुर बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका हुन् । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा काँग्रेस मकवानपुरको सभापति भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा काँग्रेसलाई बलियो शक्तिको रुपमा उभ्याउन सफल भए ।
कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी सभासदमा निर्वाचित भए । त्यसयता उनी निरन्तर सांसद छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् ।
२०७४ सालमा मकवानपुर–२ प्रदेश सभा ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् ।
बागमती प्रदेशसभामा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली काँग्रेसलाई उभ्याउन बानियाँले आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेकाले प्रदेशसभामा पनि बानियाँको धारणालाई सबै दलले अर्थपूर्ण रुपमा लिने गरेका छन् । राजनीतिक, सामाजिक एवं आर्थिक क्षेत्र सबैमा बानियाँलाई एक विश्वासिलो व्यक्तित्वको रुपमा लिने गरिन्छ ।