नेपालगन्ज : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन् । पराजित हुनेमा सबै संस्थापन(देउवा) पक्षका हुन् । कांग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्यो ।
बाँकेका कुल ६ वटा प्रदेश सभा मध्ये प्रदेश सभा १ ‘ख’ बाहेक अन्य ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन पक्षको सभापतिसहित कार्यसमिति पदाधिकारी र प्रदेश प्रतिनिधीमा वर्चश्व रहेको थियो । यस्तै बाँकेमा रहेका ३ वटा प्रतिनिधी सभा क्षेत्र मध्ये १ नम्बर बाहेक २ र ३ क्षेत्रमा पनि सभापतिसहित कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधीमा संस्थापन पक्षले वर्चश्व कायम गरेको थियो ।
लुम्बिनी प्रदेशको निर्वाचनका कारण बाँके जिल्लाको निर्वाचन स्थगित भयो । जिल्लाको निर्वाचन स्थगित भएपछि लुम्बिनी प्रदेशको निर्वाचनमा सहभागी भएका संस्थापन पक्षका सबै नेताहरु पराजित भए । उक्त निर्वाचनमा संस्थापन र संस्थापन इतर(कोइराला पौडेल) पक्षबीच दुई वटा प्यानल बनेको थियो ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मतदाता संख्या संस्थापन इतर पक्षको धेरै थियो, भने संस्थापन पक्षको संख्या कम थियो । ‘बाँकेमा भएका निर्वाचनमा हामीले राम्रै प्रभाव जमाएका हौं, तर लुम्बिनीमा हार्नुको मुख्य कारण पहिलो त चुनावी रणनीति र ब्यवस्थापन फितलो हुनु हो, दोस्रो कुरा लुम्बिनीको समग्र मतदाता संख्या जोड्दा हामी कमजोर नै थियौं, त्यसकारण हामीले चुनाव हार्यौें,’ कांग्रेस(संस्थापन)का नेता फुलाराम थारुले भने । प्यानलबाट चुनाव लड्दा धेरैजसो योग्य उम्मेदवार पनि पराजित हुनुपरेको उनी बताउँछन् ।
संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भए ।
शाहले ६ सय ७६ र पुनले ७ सय ५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७ सय ६ मत ल्याएर पराजित भए । (आदीवासी जनजाती) सदस्यमै बाँकेका श्यामबहादुर थापा ६ सय ९ मत ल्याएर पराजित भएका छन् ।
यस्तै प्रदेश सदस्य (मधेसी)मा राजकुमार साहु तेलीले ६ सय ३१ मत ल्याएर पराजित भए । प्रदेश सदस्य महिला (खुल्ला)मा संगिता चौधरीले ६ सय ४५ मत ल्याएर पराजित भइन् । यसैगरी (खस आर्य) सदस्यमा बाँकेकै यमबहादुर खड्का ६ सय ४३ मत ल्याएर पराजित भए ।
त्यस्तै बाँके जिल्लागत प्रदेश सदस्यमा नारायणी रुपाखेती ६ सय ९९ मत ल्याएर पराजित भइन् । उनलाई संस्थापन इतर(कोइराला पौडेल) पक्षकी बाँकेकै दिक्षा कोइरालाले पराजित गरेकी हुन् । यसैगरी बाँके जिल्लागत सदस्यमै तेजेन्द्रबहादुर कँडेल ६ सय ७८ मत ल्याएर पराजित भए ।
कँडेललाई बाँकेकै संस्थापन इतर पक्षका टेकनारायण भुसालले पराजित गरेका हुन् । यस्तै (महिला खुल्ला) सदस्यमा रत्ना राणा ६ सय ६८ मत ल्याएर पराजित भइन् । उनलाई बाँकेकै संस्थापन इतर पक्षकी अन्जना पाण्डेले पराजित गरिन् । पराजित भएपछि प्रतिक्रिया दिदै प्रदेश सह-महामन्त्री पदकी उम्मेदवार समेत रहेकी नेतृ पुनले पार्टीको आन्तरिक चुनावमा हारजित सामान्य कुरा भएको बताइन् । चुनाव हारेपनि आफुले सम्मानजनक मत पाएको उनको भनाइ छ ।