काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रदेश नम्बर १ को अधिवेशनमा मतदान नगरेकोमा क्षमा मागेका छन । कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश १ सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाएका थिए ।
घिमिरे सभापतिका अर्का उम्मेदवार उद्धव थापासँग २ मतको अन्तरले पराजित भएका थिए । तर, प्रदेश अधिवेशनमै गएका पौडेल पक्षका शीर्ष नेताहरूले घिमिरेलाई मतदान गरेका थिएनन् । प्रदेशस्तर सम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको कोइराला बताउँछन् ।
‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै ‘संशय’ थियो, कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो, तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ, यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले ट्वीट गर्दै भनेका छन् ।
कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख मतदाता रहने विधानको व्यवस्था छ । यसबारे कांग्रेस विधानको १३ औं नम्बरको १ ख मा ‘सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य’ हुने व्यवस्था गरिएको छ ।