काठमाडौं : नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूका लागि भोजन र आवासको प्रबन्ध मिलाएको छ । महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
मंसिर २४ देखी २७ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले जानकारी दिए । भोजन र आवास उपसमिति बनाएर काम भइरहेको उनले बताए ।
नेपाली काँग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ, भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्ने भएको छ । खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ ।
होटलमा भने प्रतिनिधिले सुख्खा रुपमा सुत्न मात्रै पाउने छन् । काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिव ८ सय वटा होटलहरू बुकिङ गर्ने भएको छ । महाधिवेशन प्रतिनिधिको आवासका लागि ४ हजार ५ सय बढी बेडको व्यवस्था गरिएको छ ।
‘हामीलाई लगभग ४ हजार ५ सय बेड चाहिने हो, तीमध्ये ३ हजार ८ सय बेडहरू बुकिङ भैसकेको छ, बाँकी ७ सय जति बेड बुकिङको प्रक्रियामा छ, त्यो पनि बुधबारभित्र बुकिङ भइसक्छ,’ पाण्डेले भने । महाधिवेशनमा आउने प्रतिनिधिका लागि काठमाडौंमा करिब एक सय वटा होटेल बुकिङ गर्नुपर्ने बताए । भोजनका लागि दुईवटा फुडल्याण्ड र आवासका लागि करिव सय वटा होटेलको व्यवस्था भइरहेको पाण्डेले बताए ।
‘महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि हामीले बसुन्धराको दियालो र बत्तीसपुतलीको अनुपम फुडल्याण्डलाई संयुक्त रुपमा जिम्मा दिइसकेका छौं,’ उनले भने । काँग्रेस महाधिवेशन प्रतिनिधिलाई २३ गतेदेखि २७ गतेसम्म आवास र २४ गतेदेखि भोजनको व्यवस्था मिलाएको छ । ‘खाना र आवास व्यवस्थापनको काम लगभग सकिएको छ भन्दा हुन्छ, २३ गतेदेखि २७ गतेसम्म हामी हाम्रा महाधिवेशन प्रतिनिधिलाई सुताउँछौं, २४ देखि २७ सम्म खाना पनि खुवाउँछौं, महाधिवेशन लम्बियो भने एक–दुई दिन त्यसैगरी खाने–बस्ने अवधि पनि लम्बिन्छ,’ उनी भन्छन ।
महाधिवेशनमा आउने प्रतिनिधिको खानपिनको व्यवस्था भृकुटीमण्डपमै गरिनेछ । ‘खाना भृकुटीमण्डपमै क्याटरिङले नै खुवाउँछन । बिहानको नास्तादेखि बेलुकाको डिनर पनि त्यहीँ हुन्छ । जसमा ब्रेकफास्ट, लञ्च र दिउँसो चिया हुन्छ, बेलुका डिनर हुन्छ,’ उनले भने । महाधिवेशन प्रतिनिधि सुत्न मात्रै होटेलमा जानुपर्ने पाण्डेले सुनाए । टुरिस्ट स्ट्याण्डरको होटलमा बेडहरू बुकिङ गरिएको उनले बताए ।
‘पर्यटन बोर्डले जस्तो भिजिट २०२० मा एउटा मापदण्ड तय गरेको रहेछ, त्यही स्ट्याण्डर्डको होटलमा महाधिवेशन प्रतिनिधीलाई राख्ने हो, जुन ठमेल एरियामा पनि हुन्छ,’ उनले भने । पछिल्लो समय सीसीएमसीले होटेल आइसोलेसनमा बस्नका लागि बनाएको मापदण्ड अनुसारको होटेलमा महाधिवेशन प्रतिनिधिलाई सुताउने पाण्डेले बताए ।
उक्त मापदण्डको होटेलमा करिव ८ सय रुपैयाँका दरले बेडहरू बुकिङ गरिएको उनले जानकारी दिएका छन् । ‘मोटामोटी ८ सयका दरले तिर्ने भनेर तयारी गरेका छौं, जसमा एट्याच बाथरुमका साथै चिसो तातो पानीको सुविधा हुन्छ,’ पाण्डेले भने ।