नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रिय सदस्यका लागि बाँकेबाट अहिलेसम्म ५ जना आकांक्षी देखिएका छन् । संस्थापन (देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला/पौडेल) पक्षबाट एक जनाले केन्द्रिय सदस्यमा आकांक्षा देखाएका हुन् ।
संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन् । संस्थापन पक्षबाट पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, पुर्वसभासदद्धय आशा बिक र मैकुलाल बाल्मिकी तथा दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण बिक रसाइली आकांक्षी छन् ।
पुर्वमन्त्री हमाल संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रिय सदस्यका लागि आकांक्षी देखिएका छन् । कोइरालाले केन्द्रिय सदस्य(महिला)मा लड्ने आकांक्षा राखेकी छन् । यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रिय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । पुर्वसभासद बल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रिय सदस्यको आकांक्षी छन् ।
पुर्वसभासद आशा (दलित महिला) बाट केन्द्रिय सदस्यको आकांक्षी छिन् । नेपाली कांग्रेसको विधान अनुसार दलित कोटाबाट एक जना सह-महामन्त्रीसहित पुरुष ५ र महिला ४ जना निर्वाचित हुने ब्यवस्था छ ।
पुर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा(संस्थापन) प्यानलबाट केन्द्रिय सदस्यमा आफुलाई उम्मेदवार बनाउन नेताहरु लागेको बताए । ‘लुम्बिनी प्रदेशबाट तपाई हाम्रो टिमको उम्मेदवार बन्नुपर्छ भनेर केन्द्रका नेताहरुले मलाई भन्नु भएको छ,’ उनले भने ‘मलाई केन्द्रिय सदस्य बनाउन धेरै नेता र कार्यकर्ताको चाहना छ ।’
यस्तै अर्का आकांक्षी कोइरालाले संस्थापन इतर पक्षबाट केन्द्रिय सदस्य(महिला)मा चुनाव लड्ने तयारी गरिरहेको बताइन् । ‘मैले माहोल हेरिरहेकी छु, टिमका नेताहरुबाट राम्रै प्रतिक्रिया आइरहेको छ, टिमका सबै नेताहरु एक भइदिए हुन्थ्यो,’ उनले भनिन् ।
केन्द्रिय सदस्यको आकांक्षी आशाले ४ जना दलित (महिला) कोटामा आफु पनि पर्ने सम्भावना रहेको बताइन् । ‘दलित महिला कोटाबाट केन्द्रिय सदस्य लड्ने मेरो आकांक्षा छ, पार्टीको चुनाव हो, नेताहरुले कसरी मिलाउनु हुन्छ, त्यसमा भर पर्छ र मेरो सम्भावना बलियो नै छ,’ उनले भनिन् ।
यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफु सिनियरमा चौथो नम्बर भित्रपर्ने भएकाले केन्द्रिय सदस्य (दलित पुरुष)को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए । ‘म अहिले दलित संघको केन्द्रिय उपाध्यक्ष पनि हुँ, नेताहरुले मिलाए भने म पहिलो नम्बरमै पर्छु,’ उनले भने ।
केन्द्रिय सदस्यका आकांक्षी रहेका पुर्वसभासद बाल्किमीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन् । ‘दलित पुरुषको कोटाबाट ५ जना निर्वाचित हुने ब्यवस्था छ, म पनि त्यसभित्र पर्ने विश्वास गरेको छु,’ उनले भने ‘मलाई सबै नेताहरुले आश्वासन दिइसक्नु भएको छ, एक जना मधेसी दलितलाई पनि समावेश गर्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ ।’