नेपालगन्ज : नाला निर्माण र सडक विस्तारको नाममा ज्यादती गरिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय बासिन्दाले यस्तो आरोप लगाएका हुन् ।
नेपालगन्ज-२ लोनियन टोलमा नाला निर्माण गर्ने तथा कति मिटर सडक विस्तार गर्ने भन्नेबारे स्पष्ट रुपमा जानकारी नगराएरै एक्कासी डोजर चलाइएको स्थानीय बासिन्दा विजय बर्माले बताए । ‘थाहै नदिएर जनताको घरमा एक्कासी डोजर चलाइयो, यो कार्य तत्काल रोक्नुपर्छ,’ उनले भने ।
आफुहरु विकासको पक्षमा रहँदा रहँदैपनि जनतालाई जानकारी नदिएर एक्कासी डोजर चलाउनु अन्याय भएको उनको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित वडा कार्यालयले झाडा टार्ने हिसाबले काम चलाउ सुचना निकालेर मनपरी गरेको स्थानीयको आरोप छ ।
‘घर पसल भत्काउँदा घरधनीसँग पनि सहमती गर्नुपर्ने हो र सबैका लागि एउटा साझा मापदण्ड बनाउनु पर्नेमा त्यसो गरिएन, नगरपालिकाले आफुखुसी भत्काउन थालेकाले धेरै गरिवहरु घरबारविहिन बन्नुपर्ने स्थिती आएको छ,’ अर्का स्थानीयले भने ।
उक्त टोलमा कतै ३ मिटर र कतै ५ मिटर बाटो कायम गरिएकोमा सोही बमोजिम विस्तार गर्नुपर्नेमा आफुखुशी गरिएको स्थानीयको गुनासो छ । ‘ कतै ६ मिटर र कतै ७ मिटरमा डोजर चलाउने काम भइरहेको छ,’ यहाँका स्थानीय भन्छन् ।
उक्त विषयमा वडा नम्बर २ कार्यालयले उपमहानगरपालिकाको मापदण्ड अनुसार नै नाला निर्माण कार्य भइरहेको जनाएको छ । कतिपय स्थानीयलाई मर्का परेको गुनासो आएकाले उक्त विषयमा छलफल र सहमति गराउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।