डुडुवा(बाँके) : डुडुवा गाउँपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको ८० प्रतिशत काम पुरा भएको छ । भवन निमार्णको काम करिव ८० प्रतिशत पुरा भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
तिब्र गतिमा निर्माण भइरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने उनले बताए । गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएको भन्दै अब छिट्टै नयाँ भवनबाट सेवा प्रवाह हुने बताए ।
उक्त गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाको पनि अनुगमन गरिरहेको जनाएको छ । गाउँपालिकाले निर्माण गरिरहेका विभिन्न ठुला तथा साना योजनाको अनुगमन गर्ने काम भइरहेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
सबैभन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, बिद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वमा रहेको टोलीले निर्माण सम्पन्न भएको वडा नम्बर ४ स्थित मस्जिद र नवनिर्मित वडा नम्बर ६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो ।
वडा नम्बर ४ मोल्हुपुर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन २६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उपाध्यायले जानकारी दिए । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहित अन्य जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायत सहभागी भएका थिए ।