नेपालगन्ज : बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन् । महिलाले आफुमाथी यौन दुर्व्यवहार भएको भनि प्रहरीलाई जानकारी गराएको एक दिन वितिसक्दा पनि जाहेरी नदिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता मधुसुदन न्यौपानेले पीडित भनिएकी महिलाले बुधबार बेलुकासम्म जाहेरी दिन आउँदैछु भनेको तर, बिहीबार बेलुकासम्म पनि नआएको बताए । ‘जाहेरी दिन आउँदैछु भनेको पीडितले २४ घण्टा वितिसक्दा पनि जाहेरी नदिँदा सायद दुबै पक्ष मिल्नु भयो होला,’ उनले भने ।
महिलाले यौन दुर्व्यवहार भएको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय धनौली खजुराले बुधबार नै प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई आफ्नो नियन्त्रणमा राखेको थियो । महिलाको जाहेरी नआएपछि दुबै जनालाई छाडिने प्रवक्ता न्यौपानेले बताए । महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि खजुराका युवाहरुको एक समुहले प्रमुख प्रशासकीय अधिकृत खरालमाथी बुधबार कार्यालयमै पुगेर हातपात समेत गरेको थियो ।
उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुरमा आवासिय वनभोजमा गएका थिए । उक्त दिन उनीहरु टिकापुरको होटलमै बास बसेका थिए । ति महिला कर्मचारीसहित अधिकांसले मदिरा सेवन गरेका थिए । वनभोजपछि नियमित काममा फर्केकी कर्मचारीले बुधबार एक्कासी यौन दुर्व्यवहारको आरोप लगाएपछि गाउँपालिकामा खैलाबैला मच्चिएको कर्मचारी बताउँछन् ।
स्रोतका अनुसार ति महिलालाई जाहेरी नदिन गाउँपालिकाकै जनप्रतिनिधीले दवाव र प्रलोभन देखाएका थिए । उक्त घटना प्रहरीसम्म पुग्दा अन्य २/३ जना कर्मचारीको पनि संलग्नता खुल्ने भएपछि गाउँपालिकाले आन्तरिक रुपमा मिलाएको स्रोतले जनाएको छ ।
‘यो घटनामा हाकिम दोषी छन् कि छैनन त्यो त प्रहरी अनुसन्धानबाट नै खुल्ने थियो, प्रहरीले यो घटनाको अनुसन्धान गरेको भए अरु २/३ जना कर्मचारीको पनि संलग्नता पुष्टी हुन्थ्यो,’ ती कर्मचारीले भने ‘घटनामा संलग्न मुख्य ब्यक्तीलाई जोगाउनकै लागि दोष जति हाकिम र लेखा अधिकृतमाथी थुपार्ने काम भयो र पीडितलाई पनि मिल्न दवाव दिइयो ।’
स्रोतका अनुसार उक्त घटनामा गाउँपालिका स्वास्थ्य शाखाका एक कर्मचारीको पनि संलग्नता रहेको कर्मचारीले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत खरालमाथी हातपात, कुटपिट, गाली गलौच तथा दुर्व्यवहार भएको भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित बनेका थिए । कर्मचारीले कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेपछि यौन दुर्व्यवहारको घटनाले फरक मोड लिएको हो ।
प्रहरीका अनुसार प्रमुख प्रशासकीय अधिकृत खरालमाथी बुधबार कार्यालयको हाताभित्रै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिकै छोरा विज्ञान कक्षपतिसहित आएका १२/१५ जना युवाको समुहले कुटपिट तथा हातपात गरेको थियो ।
गाउँपालिका अध्यक्षकै छोरा कुटपिटको घटनामा मुछिएपछि दुबै घटनालाई साम्य पार्न अध्यक्ष कक्षपतिले सक्रियता देखाएको बताइएको छ । ‘यौन दुर्व्यवहारको केशमा महिला कर्मचारीलाई जाहेरी नदिन लगाउने र कुटपिटमा संलग्न युवाहरुलाई पनि प्रशासकीय अधिकृतले माफी दिने गरी दुबै केशलाई मिलाउने सहमती भएको छ,’ कर्मचारी स्रोतले भन्यो ।
यो पनि पढ्नुस् :
खजुरा गाउँपालिकाको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन राजनीतिक दलको माग