काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार (आज) देखि काठमाडौंमा सुरु हुँदैछ । उत्साह, एकता र रूपान्तरणको मूल नारासहित महाधिवेशन हुन लागेको हो ।
राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर उद्घाटन शत्रमा शक्ति प्रदर्शन नगर्ने निर्णय पार्टीले गरेको छ । पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा हुँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । पार्टीको नीति र नेतृत्व चयनका लागि महाधिवेशन सर्वोच्च निकाय हो ।
भ्रातृ तथा शुभेच्छुक संगठन, विदेशस्थित जनसम्पर्क समितिसहित झण्डै ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि महाधिवेशमा सहभागी हुनेछन् । उनीहरूका लागि खाने र बस्ने व्यवस्था पार्टीले गरेको छ । सभापतिमा शेरबहादुर देउवा, शशांक कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ लगायतले दाबी गर्दै आएका छन् ।
विधानको नयाँ व्यवस्थाअनुसार महाधिवेशनबाट दुई/दुई उपसभापति र महामन्त्री, समावेशी आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने विधानको नयाँ व्यवस्था छ ।
महाधिवेशनपछि आउने नयाँ नेतृत्वले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नसक्ने छ । नयाँ नेतृत्वका लागि शनिबार मनोनयन दर्ता र सोमबार निर्वाचन तय गरिएको छ । राष्ट्रिय सभागृहमा हुने निर्वाचनमा एकजना महाधिवेशन प्रतिनिधिले २९ थरी मतपत्रमा मतदान गर्नुपर्नेछ ।
सभापति, पदाधिकारी, प्रदेश र समावेशी क्लस्टरअनुसार छुट्टा-छुट्टै मतपत्रमा मत दिन एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै १ घण्टा लाग्नेछ । विधानमा केन्द्रीय समितिको आकार १ सय ६७ सदस्यीय हुने व्यवस्था छ । जसमध्ये ३३ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिने सभापतिले मनोनीत गर्नेछन् । बाँकी पदाधिकारीसहित महाधिवेशनबाट निर्वाचित हुनेछ ।
१ सभापति, २ उपसभापति, २ महामन्त्री, समावेशी क्लस्टरका आधारमा ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य, खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य, प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
यस्तै प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य छन् । ४ महिलासहित ९ दलित, ७ महिलासहित १५ आदिवासी जनजाति, ६ महिलासहित १३ खसआर्य, ४ महिलासहित ९ मधेसी, २ महिलासहित ४ थारु, १ महिलासहित ३ मुस्लिम र पिछडिएको क्षेत्रबाट १ गरी ५४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । अल्पसंख्यक र अपांगता मध्येबाट १-१ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । केन्द्रीय नेतृत्वका लागि ५ सय भन्दा बढी आकांक्षी देखिएका छन् ।