काठमाडौं : नेपाली कांग्रेसका नेता मैकुलाल बाल्मिकीले पार्टीको पार्टीको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराएसँगै प्रचार प्रसारलाई तिब्र पारेका छन् । उनी नेपाली कांग्रेसको संस्थापन(देउवा) पक्षबाट केन्द्रिय सदस्य (दलित पुरुष) का उम्मेदवार हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यका लागि नेता बाल्मिकीको पक्षमा प्रचार प्रचार तिब्र पारिएको हो । नेता बाल्मिकी २०७० सालमा तत्कालिन संविधान सभाको सदस्य हुन् । संविधान निर्माणको काममा महत्वपूर्ण भुमिका खेलेका उनी बाँकेबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
‘मैले मतदातासँग भोट माग्ने काम गरिरहेको छु, पार्टीमा मैले गरेको कामको मुल्यांकन गरेर कांग्रेसका महाधिवेशन प्रतिनिधी ज्यूहरुले केन्द्रिय समितिको जिम्मेवारीमा पठाउनु हुनेछ भन्नेमा म पूर्ण आशावादी छु,’ उनले भने । नेता बाल्मिकी २०३६ सालको जनमत संग्रहमा सक्रिय सहभागी भएर कांग्रेसको राजनीतिमा होमिएका थिए ।
२०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागी भएका उनी २०६१/६२ को आन्दोलनमा सुरक्षाकर्मीबाट यातना पाएका थिए । ‘त्यतिबेला मैले सुरक्षाकर्मीबाट पाएको यातनालाई म कहिल्यै विर्सन सक्दैन, आफ्नो ज्यान भन्दापनि प्यारो त्यतिबेलाको आन्दोेलन थियो,’ उनले स्मरण गर्दै भने ।
पार्टीको वडा सचिव, नगर सचिव हुदै नेता बाल्मिकी नेपाली कांग्रेस बाँकेको जिल्लास्थित प्रशिक्षण विभाग प्रमुख भएका थिए । नेपाली कांग्रेसको भातृ संस्था दलित संघको संस्थापक सदस्य समेत रहेका उनले नेपाल सरकारको महिला तथा बालबालिका समिति सदस्य, नेपाल सरकारको स्वास्थ्य समितिका संयोजक भएर काम गरिसकेका छन् ।
‘पार्टीले मलाई दिएको जिम्मेवारी अहिलेसम्म इमान्दारिपुर्वक पुरा गर्दै आएको छु, पहिले संविधान बनाउनका लागि पार्टीले दिएको जिम्मेवारीलाई पुरा गरेँ, अब पार्टी बनाउने जिम्मेवारीलाई पनि म कुशलतापुर्वक पुरा गर्नेछु,’ नेता बाल्मिकी भन्छन् ।