काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न सोमबार(आज) मतदान हुँदै छ । मतदान बिहान ८ बजेदेखी सुरु हुने भनिएपनि अझै सुरु भएको छैन । अहिले केहीबेरमा मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा व्यवस्था गरिएको छ । कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । जसमा प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन ।
अब १३२ पदका लागि ४८९ उम्मेदवार प्रतिस्पर्धामा छन । त्यसका लागि आज मतदान हुनेछ । कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङको उम्मेदवार छन ।
त्यस्तै, दुई जना उपसभापतिका लागि विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह उम्मेदवार छन । दुई महामन्त्रीका लागि ६ जना उम्मेदवपार छन । जसमा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीबीच प्रतिस्पर्धा हुदैछ ।