काठमाडौ(भृकुटीमण्डप): नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा साढे ३ घण्टा ढिलो मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिलो ११ बजेर २३ मिनेटमा सुरु भएको हो ।
कांग्रेस नेता कुलबहादुर गुरुङले बिहान ११ बजेर २३ मिनेटमा पहिलो मत खसाले । मत खसालेपछि मतपत्र देखेर आफूलाई अनौठो लागेको उनलेे प्रतिक्रिया दिए । मतदानमा सहभागी हुन प्रतिनिधिहरु बिहानैदेखि लाइन लागेका थिए । तर, सभापति शेरबहादुर देउवा भने मध्यान्ह पौने १२ बजे मात्र मतदानस्थल आइपुगेका थिए । मतपत्र छाप्न र त्यसमा निर्वाचन अधिकृतको हस्ताक्षर गर्न ढिलाइ भएकाले मतदानमा ढिलाइ भएको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।
निर्वाचन अधिकृतहरू बिहानैदेखि मतदानस्थलमा पुगेर बसेका थिए। मतदानका लागि राष्ट्रिय सभागृहलाई ‘क’ र ‘ख’ बनाइएको छ भने भृकुटीमण्डपलाई ‘ग’ बनाइएको छ। मतदानमा ढिलाई भएपछि विभिन्न पदमा उम्मेदवार बनेका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन्।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुल बडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ।
मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ। समितिका अनुसार सभापति पदमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन्।
उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्का उम्मेदवार छन्।
यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्की उम्मेदवार छन्। सह-महामन्त्रीमा भने मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङ्दम्बे, चेतराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्याय उम्मेदवार छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।