काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको पहिलो चरणको मतदानबाट सभापति निर्वाचित हुन सकेनन् । निर्वाचनको मतगणना सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । सभापति पदमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने निश्चित देखिएको हो ।
सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।
पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २ हजार ३ सय ४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरे । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् ।
कोइरालाले १ हजार ७ सय २९, सिंहले ३ सय ७१ निधिले २ सय ४९ र गुरुङले २० मत प्राप्त गरे । निर्वाचन समितिले अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच मात्र प्रतिस्पर्धा गराउनेछ । निर्वाचन समितिले मतपत्र छपाएर दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
महाधिवेशनले सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदमा निर्वाचित गर्नेछ । सभापतिको परिणाम आएपछि मात्र अन्य पदाधिकारी तथा सदस्यको मत गणना गरिने निर्वाचन समितिले जनाएको छ ।