काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार अपरान्हतिर सभापति पदका लागि दोस्रो चरणको मतदान चल्दै थियो । काठमाडौंस्थित राष्ट्रिय सभा गृह परिसरमा नेताहरु खचाखच भरिएका थिए ।
सोही क्रममा सभापतिका प्रत्यासी शेरबहादुर देउवासँगै उभिएका थिए, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, पुर्णबहादुर खड्का लगायत । त्यहाँ उपस्थित सबै नेताले हात हल्लाउँदै आफुहरु एक भएको सन्देश कार्यकर्तालाई दिए । उनीहरुको फोटो खिच्न पत्रकारको भिड नै लाग्यो ।
छिनभरमै फोटो सञ्चार माध्यममार्फत सार्वजनिक भयो । महाधिवेशन अन्तर्गत सोमबार मात्र सभापति पदका लागि देउवासँगै चुनाव लडेका सिंह, निधि र कल्याण गुरुङले मंगलबार बिहान एकाएक समर्थन गरेका थिए ।
दोस्रो चरणको मतदान स्थलमा भोट माग्न देउवासहित पुगेका सिंह र निधि एकै ठाउँमा उभिएर खिचेको तस्बिर मंगलबार दिनभर चर्चामा आयो र जुन तस्बिरले धेरै नेता, कार्यकर्तालाई भावुक बनायो । उक्त तस्बिरलाई अधिकांस कांग्रेस कार्यकर्ताले पार्टीलाई एकताबद्ध गराउनका लागि नेताहरुले सकारात्मक सन्देश दिएको ब्याख्या गरे ।
देउवा, सिंह, निधि लगायत नेताले एकै स्थानमा तस्बिर खिचाइरहँदा सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइराला भने अलग्गै स्थानमा भोट माग्दै थिए । तर, कतिपय नेता कार्यकर्ताहरु देउवा, सिंह, निधि र शेखरले संगै फोटो खिचाएको हेर्न आतुर देखिन्थ्ये ।
‘पार्टीको आन्तरिक चुनाव भएपनि अन्तिममा सभापतिका प्रत्यासीहरु एकै ठाउँमा उभिनु भयो, यसले हामी कार्यकर्तालाई धेरै खुसी बनाएको छ,’ एक महाधिवेशन प्रतिनिधीले दूरसञ्चार डटकमसँग भने ‘त्यो ठाउँमा शेखर दाई पनि उभिएको फोटो देख्न पाएको भए अझ हामी हर्षित हुन्थ्यौं, तर विडम्वना दोस्रो चरणको मतदान हुन पुग्यो, शेखर दाई फोटोमा अटाउन सक्नु भएन ।’
पार्टीभित्रको आन्तरिक चुनाव भएकाले अब सबै नेताहरु एक ढिक्का भएर आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन लाग्नुपर्ने आम कार्यकर्ताको सुझाव छ ।