काठमाडौँ (राष्ट्रिय सभागृह) : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदानको परिणाम मंगलबार(आजै) राती आउने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन समितिले मत परिणाम राती नै सार्वजनिक गर्ने गरी अहिले गणना गर्ने तयारी गरिरहेको छ । निर्वाचन समितिका सदस्य एगराज पोखरेलले दिएको जानकारी अनुसार मत गणना स्थलमा अहिले मुचुल्का तयार गरेर मत पेटिका खोल्ने तयारी गरिएको छ ।
मंगलबार राती पौने १० बजेतिर सकिएको मतदानमा ४ हजार ५ सय ६२ मत खसेको थियो । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति पौने १० बजे सकिएको हो । महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् ।
यसअघि सोमबार सम्पन्न भएको पहिलो चरणको मतदानमा भने ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए । पहिलो चरणको मतदानमा कूल ७६ मत बदर भएको थियो । पहिलो चरणको मतदानमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । दोस्रो चरणको मतदानमा देउवालाई सिंह, निधि र गुरुङले समर्थन गरेका थिए ।
पहिलो चरणको मतदानमा देउवाका लागि ८२ मत मात्रै अपुग भएको थियो । तर, दोस्रो चरणको मतदानमा शेखर बाहेक अन्य सबै प्रत्यासीले समर्थन गरेपछि देउवाले जित्ने निश्चित जस्तै भएको छ ।