काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएपछि आम रुपमा चासो बढेको छ । मत गणना कार्य हुदैगर्दा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा र डा. शेखर कोइरालाले ल्याउने मतबारे आम रुपमा अनुमान र विश्लेषण गर्न थालिएको छ ।
मंगलबार राती पौने १० बजेतिर सकिएको मतदानमा ४ हजार ५ सय ६२ मत खसेको थियो । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति पौने १० बजे सकिएको हो । महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका हुन् ।
यसअघि सोमबार सम्पन्न भएको पहिलो चरणको मतदानमा भने ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए । यसअघि पहिलो चरणको मतदानमा देउवा र डा. कोइरालाबीच ५ सय २९ मतको अन्तर देखिएको थियो ।
मतान्तर बढी भएपनि ५० प्रतिशत कटाउन नसक्दा सभापति चयन गर्न पुनः दोस्रो चरणको मतदान गराइएको थियो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २ हजार ३ सय ४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कोइरालाले १ हजार ७ सय २९ मत ल्याएका थिए ।
पहिलो चरणमा ५० प्रतिशत कटाउनका लागि देउवालाई ८२ मत अपुग भएको थियो । सभापति पदका लागि मात्रै भएको दोस्रो चरणको मतदानमा देउवा र कोइरालाले कति मत ल्याउँलान् ? यतिखेर धेरैको मनमा उत्सुकता जागेको छ ।
तर, पहिलो चरणमै ५ सय २९ मतको अन्तर कायम राखेका देउवाले दोस्रो चरणमा अन्य तीन जना प्रत्यासीको पनि समर्थन पाएपछि स्वभाविक रुपले मतान्तर अझ बढाउने अनुमान गरिएको छ ।