नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य विनोद मैनालीले केपी ओली नेतृत्वको सरकारका बेला नियुक्ती लिएका खेलकुद पदाधिकारीले राजिनामा दिनुपर्ने बेलामा प्रक्रिया नै मिचेर अन्य नियुक्ती गर्नु गलत काम भएको बताएका छन् । नेपालगन्जका पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
ओली सरकारले जाँदाजाँदै गलत मनसायले खेलकुद क्षेत्रमा विभिन्न पदमा नियुक्त गरेको उनको आरोप छ । गलत मनासयले रातारात गरेका नियुक्तहरु स्वतः खारेज हुुनुपर्ने मैनालीको तर्क छ । ‘सरकार परिवर्तन भएपछि त्यतिबेला राजनितिक नियुक्त लिएका नेताले स्वत पदबाट राजिनामा दिनु पर्ने हो, हामीले उहाँहरुलाई राजिनामा दिनु भन्दैनौं, तर नैतिकताको आधारमा राजिनामा दिनु पर्ने हो,’ उनले भने ।
केपीको कार्यकालमा लुम्बिनी प्रदेशले संसद बैठक बस्न नसकेको अवस्थामा अवैधानिक बाटोबाट प्रदेश खेलकुद सदस्य सचिव लगायतका पदाधिकारीलाई नियुक्त गरेको थियो । त्यसपछि प्रदेश खेलकुदले जिल्ला खेलकुद समिति गठन गर्दै गएको छ ।
राखेप पुर्व सदस्य मैनालीले वर्तमान राखेप नेतृत्वले सहि ढंगले काम गर्न नसकेको समेत बताएका छन । उनले भने,‘नेतृत्वमा रहेका मानिसबाट आम खेलकर्मीले जुन ढंगको अपेक्षा गरेको थिए त्यो पुरा हुन सकेन । कोभिडले प्रभावित भएका बेला राखेपले खेलाडी र खेलकुदका लागि थुप्रै काम गर्न सक्थ्यो ।
पुर्वाधार निमार्ण, अध्ययन, अनुसन्धानका कामहरु धेरै गर्नु पर्ने थिए । तर ति केहि भएनन । खेलकुदको करिब आधा बजेट फ्रिज भएर गयो ।’ राखेपका सदस्य गोबिन्द भंट्टराईले पनि राखेप नेतृत्व नहुँदा खेलकुदको विकासमा असर गरेको बताए ।
‘दुई वर्ष भयो राखेपको बोर्ड बैठक नै भएको छैन, अस्थिरता र तर्दथवादमा चलेको छ खेलकुद,’ उनले भने ‘खेलकुदमा आएको बजेट फ्रिज भएर गएको छ । त्यसको कुनै समिक्षा हुँदैन, यसमा नेतृत्वको मात्र गल्ती छैन । केहि अंश हामी पनि भागीदार छौं, हामीले खेलकदमा काम गर्ने स्वर्णीम युग गुमायो ।’