प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद बैठक चल्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाले पटक पटक गतिरोध फुकाउने प्रयासमा सर्बदलित बैठक आब्हान गरेपनि एमालेले बहिस्कार गर्दै आएको छ । खासमा संसद बैठक सुचारु गराउन के गर्नुपर्ला त ? यस विषयमा नेकपा माओबादी केन्द्रका नेता देव गुरुङसँग गरिएको कुराकानी ।
संसदको गतिरोध फुकाउन के पहल भइरहेको छ ?
नेकपा एमालेका साथीहरुले उठाएका कुराहरु निर्वाचन आयोगसँग जोडिएका कुराहरु पनि छन । राजनीतिक दलसम्बन्धी विषयमा निर्वाचन आयोगले निर्णय गर्नुपर्छ । यो कुरा अदालतमा पनि पुगेको छ । सबै कुरा सदनले नै गर्न पाउने ठाउँ त केही पनि छैन । ध्यानाकर्षण गराउन कुरा उठाउने एउटा पाटो भयो । त्यति धेरै संसद बैठक अवरुद्ध गरेपछि ध्यानाकर्षण हुने कुरा त भइहाल्यो । अरु बिधिको हिसावले गर्न पाउने ठाउँ त केहीपनि छैन ।
एमालेसँग सहमति जुटाउन माओवादी केन्द्र, काँग्रेसले छुट्टै पहल त गरेको छैन नि ?
सर्वदलीय छलफलमा आफ्नो दलबाट फुटेको नेकपा एकीकृत समाजवादी पनि आउने भएकोले त्यस्तो बैठकमा सहभागी नहुने भनेर एमालेले भन्दै आएको छ । निर्वाचन आयोगले, अदालतले स्वीकार गरिसकेको कुरा उहाँहरुले नमान्ने भन्ने कुरा हुदैन ।
विधिले स्वीकार गरिसकेको कुरा त मान्नुपर्यो नि । संविधान चित्त बुझेन संविधान मान्दिनँ भन्न त पाइएन । विधिको शासनलाई पालना गर्छु भन्ने क्रममा संविधानले कोरेको मार्गचित्रमा हिँड्दिनँ भन्न त पाइँदैन ।
संसद अवरोध खोल्नका लागि एमालेसँग वार्ता गरेर सहमति जुटाउनेबारे कुनै छलफल भएको छ कि छैन ?
हामीले बोलाए पनि उहाँहरु वार्तामा आउनुहुन्न भन्ने सबैलाई थाहा छ । औपचारिक, अनौपचारिक जुन रुपमा छलफल गर्न पनि उहाँहरु मान्नुहुँदैन, बोलाएर मात्र के गर्ने । संसदको नवौं अधिवेशन विरोधका बीच सकियो, दशौं अधिवेशनको दोश्रो बैठक पुस ६ गतेका लागि बोलाइएको छ, यो अधिवेशन पनि एमालेको विरोधमै चलाउने कि यसको समाधानको केही उपायतिर पनि लाग्ने ? उहाँहरुको लगातार विरोध भइरहने हो भने संसदीय प्रजातन्त्रमै असर पर्छ । उहाँहरुले गरेको माग अदालतमा विचाराधीन रहेको बेला त्यसलाई संसदले पूरा गरिदिने भन्ने कुरा कसरी हुन्छ ।
एमालेलाई सहमतिमा ल्याउन तपाईंहरुको पहल हुन्छ कि हुँदैन ?
पहल हुन्छ भइरहेको छ, यो तपाईहरुले सोध्ने विषय नै हैन । पटक–पटक छलफलका लागि बोलाउँदा पनि उहाँहरु नआएपछि के लाग्यो त ? यो एउटा पक्षले मात्र जिम्मा लिने विषय हैन नि ।