सुर्खेत : राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।
गत जेठ २१ गते राउटे युवती बलात्कृत भएकी थिइन् । ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई उक्त सजाय तोकिएको हो । उनले आफ्नो अनलाईनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए । उनले पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस पनि लेखेका थिए ।
बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो । निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु ।’
पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए ।
संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको अदालतको फैसलामा उल्लेख छ । सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नुपर्दैन ।
जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ । उनले आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना पनि गरेका छन् । राउटे समुदाय गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला युवतीमाथि बलात्कार भएको थियो ।
जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेका थिए । उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो । युवतीमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।