काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको बताएका छन् । खेलाडीले खेलको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै देउवाले खुसी समेत ब्यक्त गरे ।
१३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उप-विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्दै देउवाले भने, ‘खेलाडीले खेलको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुनु भएको छ, यसमा हामी अत्यन्त खुसी भएका छौं ।’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान आयोजित विशेष कार्यक्रममा देउवाले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरु स्वतः पुरस्कृत हुने गरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गरे । यस्तो सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मन्त्री अथकले विश्वास ब्यक्त गरे ।
सो क्रममा प्रधानमन्त्री देउवा र मन्त्री अथकले साफ उप-विजेता खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका थिए । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो । उक्त घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो ।
सम्मानित हुने खेलाडीमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजलश्रेष्ठ, तेज तामाङ, रोहितचन्द, पुजनउपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहेका छन् ।
उनीहरुले जनही ५ लाख नगद तथा सम्मान पत्र प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र प्रशिक्षकद्धय किरण श्रेष्ठ र विकाश मल्ललाई ३ लाख नगदसहित सम्मान पत्र उपलब्ध प्रदान गरिएको छ ।