नेपालगन्ज : बाँकेमा कोरोना विरुद्धको खोप कार्यक्रम सफल पार्न चुनौती देखिएको छ । जिल्लामा १८ वर्षभन्दा माथीका कुल ४ लाख ६ हजार १ सय ६५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । यसमध्ये २ लाख ६४ हजार ४ सय ९१ जना अर्थात् ६५ दशमलत १ प्रतिशतले खोपको पहिलो डोज मात्र लगाएका छन् ।
यस्तै १ लाख ९७ हजार ५ सय १७ अर्थात ४८.६ प्रतिशतले खोपको दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अझै एक लाख ४१ हजार ६ सय ७४ जना खोप कार्यक्रममा समेटिन नसकेको कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कार्यालयले मंगलबार नेपालगन्जमा आयोजना गरेको कोभिड १९ खोप सम्बन्धी जिल्ला स्तरीय समिक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा यस्तो जानकारी दिइएको हो । कोरोना विरुद्धको कोभिशिल्ड, एक्स्ट्राजेनेका, भेरोसेल, जनसन र फाइजर खोप सर्बसाधारणलाई लगाइएको छ ।
श्रेष्ठले भने, ‘खोपको पहिलो भन्दा दोस्रो डोज लगाउने घटेको देखिएको छ, दुबै डोज नलगाउनेको संख्या पनि धेरै छ, छुट्नेहरु किसान वा मजदुर हुन सक्छन्, खेतीबाली भित्र्याउने बेलामा खोपलाई प्राथमिकता नदिएर छुटेका हुन सक्ने हाम्रो अनुमान छ ।’
बाँकेका ८ स्थानीय तह मध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा र सबैभन्दा कम खोप नरैनापुर गाउँपालिकामा लगाएको कार्यालयको तथ्यांक छ । पहिलो चरणको महामारी पश्चात २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न योजना बनाइएको बताए । ‘१८ वर्षभन्दा माथीका जसको पहिलो र दोस्रो खोप छुटेको छ, उहाँहरुलाई खोप लगाउन हामीले विभिन्न माध्यमबाट जानकारी दिइराखेका छौं,’ शाहले भने । कोरोना भाईरस विरुद्धको खोपबारे विगतको भन्दा अहिले सर्बसाधारणमा धारणा फेरिएको उनले सुनाए ।
भिडियो हेर्नुस् :