नेपालगन्ज : नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गिय सुशिल कोइरालापछि पार्टीको केन्द्रिय राजनीतिसँग बाँके जिल्ला पुनः जोडिएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट बाँकेका कांग्रेस नेता मैकुलाल बाल्मिकी केन्द्रिय सदस्यमा निर्वाचित भए ।
उनी निर्वाचित भएसँगै बाँके जिल्ला पार्टीको केन्द्रिय राजनीतिसँग जोडिन पुगेको हो । महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेता बाल्मिकीले शेरबहादुर देउवाको प्यानलबाट दलित (खुला) तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै पुर्बमन्त्री एवं कांग्रेस बाँकेका पुर्बसभापति गजेन्द्र हमाल, जिल्ला सभापति किरण कोइराला, कांग्रेस नेतृ एवम पुर्वसभासद आशा बिक, नेता रबिन्द्रमान श्रेष्ठ र कृष्ण बिक रसाइलीले पनि उम्मेदवारी दर्ता गराएका थिए ।
लुम्बिनी प्रदेशको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका पुर्बमन्त्री हमाल, दलित महिलातर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएकी आशा र खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका रविन्द्रमान श्रेष्ठ देउवाको प्यानलमै नपरेपछि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । केन्द्रिय सदस्यतर्फको महिलामा उम्मेदवारी दिएर शेखर कोइरालाको प्यानलमा परेकी नेतृ किरण भने पराजित भइन् । शेखरको प्यानलमा नपरेपछि रसाइली भने प्रतिस्पर्धामै उत्रेका थिए । तर, उनी पनि पराजित भए ।
पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि अब बाँकेलाई केन्द्रसँग जोड्ने आफ्नो पहिलो प्राथमिकता हुने नेता बाल्मिकी बताउँछन् । ‘मलाई मतदाताले दिनु भएको जिम्मेवारीलाई म इमान्दारीपुर्वक पुरा गर्नेछु, पार्टीलाई हरेक तहको निर्वाचनमा जिताउन र पार्टीको संगठन सुदृढिकरणमा म सक्रियता पुर्वक लाग्नेछु,’ उनले भने ।
आफुले बाँके जिल्लामा विभिन्न खालका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने केन्द्रिय सदस्य बाल्मिकीले बताए । ‘वडा स्तरदेखी जिल्लासम्म प्रशिक्षण कार्यक्रम चलाउँछु, कार्यकर्तालाई कार्यक्रम दिन्छु, बाँकेमा सबै तहका निर्वाचनमा कांग्रेसलाई जिताउन अग्रणी भूमिका निभाउँछु,’ उनले भने ।
चुनावसम्म गुट र प्यानल भएपनि अब पार्टीभित्र गुट उपगुट नभएको केन्द्रिय सदस्य बाल्मिकीले बताए । ‘म सुशिल कोइरालाको स्कुलिङबाट आएको हुँ, तर अहिले शेरबहादुर देउवाको टिमबाट चुनाव जितेको छु,’ उनले भने ‘कार्यकर्तासँगै घुलमिल गर्ने, कार्यकर्तासँगै बसेर काम गर्नेछु ।’ नेपालगन्ज निवासी बाल्मिकी २०७० सालमा संविधान सभा सदस्य भएका थिए ।
उनी २०३६ सालको जनमत संग्रहमा सक्रिय सहभागी भएर कांग्रेसको राजनीतिमा होमिएका हुन् । २०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागी भएका उनी २०६२/०६३ को जनआन्दोलनमा सुरक्षाकर्मीबाट यातना पाएका थिए । पार्टीको वडा सचिव, नगर सचिव हुदै नेता बाल्मिकी नेपाली कांग्रेस बाँकेको जिल्लास्थित प्रशिक्षण विभाग प्रमुख भएका थिए ।
नेपाली कांग्रेसको भातृ संस्था दलित संघको संस्थापक सदस्य समेत रहेका उनले नेपाल सरकारको महिला तथा बालबालिका समिति सदस्य, नेपाल सरकारको स्वास्थ्य समितिका संयोजक भएर काम गरिसकेका छन् ।
यो पनि पढ्नुस् :
कांग्रेस नेता बाल्मिकीको प्रचार : ‘पहिले संविधान बनाएँ, अब पार्टी बनाउने जिम्मेवारी पुरा गर्नेछु’