नेपालगन्ज : देशभरका सामुदायिक रेडियोको छाता संगठनका रुपमा रहेको सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराव) को साधारण सभा नेपालगन्जमा हुने भएको छ । आगामी फागुन १ र २ गते साधारण सभा हुने भएको हो ।
साधारण सभामा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि सहभागी हुन आउनेछन् । उक्त साधारण सभालाई सफल बनाउन आवश्यक तयारीबारे बिहीबार छलफल गरिएको छ ।
अकोराव जिल्ला समन्वय समितिका संयोजक मोहम्मद आरिफ अन्सारीको अध्यक्षता एवम् अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यतामा गरिएको छलफलमा बाँकेमा रहेका सामुदायिक रेडियोका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । साधारण सभालाई भब्य रुपले सम्पन्न गर्नका लागि अकोरावले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको भन्दै बाँकेस्थित सामुदायिक रेडियोका प्रतिनिधीले विभिन्न सल्लाह तथा सुझाव दिए ।
उक्त छलफलका क्रममा अकोराव जिल्ला समन्वय समिति बाँकेका संयोजक अन्सारी, रेडियो कृष्णसारका कार्यकारी प्रमुख तुला अधिकारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष समेत रहेका रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओली, रेडियो सद्भावका स्टेशन म्यानेजर नवीन गिरी, रेडियो कोहलपुरका प्रतिनिधी बैकुण्ठ अधिकारी लगायतले विभिन्न सुझाव दिए ।
साधारण सभामा देशभरका करिव ३ सय ६५ सामुदायिक रेडियो, ३५ जना साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधी, ५० जना अतिथि गरेर ४ सय ५० जनाको हाराहारीमा सहभागिता रहने अकोरावका अध्यक्ष गिरीले जानकारी दिए ।
साधारण सभामा सामुदायिक रेडियोका विभिन्न सवालबारे बृहत रुपमा छलफल गरिने बताए । बुटवलमा यसअघि सम्पन्न अकोरावको बैठकले फागुन १ र २ गते विश्व रेडियो दिवसको अवसर पारेर नेपालगन्जमा साधारणसभा गर्ने निर्णय गरेको थियो ।