डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गरेको छ । बिहीबार बसेको सभाले उक्त विधेयक पारित गरेको हो ।
डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक-२०७८, संस्था दर्ता विधेयक-२०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक-२०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक-२०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक- २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक-२०७८, गाउपािलको तथ्याक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक-२०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो ।
सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नु भएको विधेयक सर्ब सम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गरेका थिए । सभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरि गरिएको बजेट संशोधन पारित गरिएको थियो ।
डुडुवा गाउँपालिका अहिले जिल्लास्तर मै नमूनाको रुपमा काम गर्न सफल भएको पालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा सब भन्द बढी अंक ल्याएर जिल्ला मै पहिले, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्तरगत स्वमुल्याकनमा पनि जिल्लामा पहिलो, घर घरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सबभन्दा कम बेरुजु डुडुवामा रहेको पाइएको छ ।
गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएका छन् । गाउँपालिकाले जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घर-घरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी रुपमा देखिएको छ ।
सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले सञ्चालन गरेको उक्त सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।