नेपालगन्ज : मुलुकको मानव अधिकारको अवस्थामा सुधार आउन नसकेकोमा चिन्ता ब्यक्त गरिएको छ । मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भएपनि नागरिकले सही ढंगले मानव अधिकारको अनुभुती गर्न नपाएको उनीहरुको भनाइ छ ।
नेपाल मानव अधिकार संगठन बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगन्जमा आयोजित मानव अधिकार शिक्षा कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय अध्यक्ष महामुनि आचार्यले मुलुकको मानव अधिकारको अवस्थामा सुधार नै आउन नसकेको बताए ।
नागरिकले मानव अधिकारको अनुभुती नगर्दा कपितय मुद्दा अन्तराष्ट्रियकरण भएको उनले सुनाए । अध्यक्ष आचार्यले तत्कालिन माओबादी सशस्त्र द्धन्द्धका क्रममा भएका घटनाका मुद्दामा बेवास्ता भएको बताए । ‘हामीले गंगामायाको न्यायका लागि अभियान चलायौं, गंगामायाले न्याय पाउनु भएन,’ उनले भने ‘गंगामायाको मुद्दा अन्तराष्ट्रियकरण भइसकेको छ, अब यहाँका राजनीतिक नेतृत्वलाई सहज हुनेछैन ।’ राष्ट्रिय मानव अधिकार आयोगलाई समेत विगतदेखी वर्तमान सरकारले नटेर्ने गरेको आचार्यले सुनाए ।
संगठन बाँकेका अध्यक्ष प्रहलाद कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, नेपाल बार एशोसियशनका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज शाखा कार्यालयका प्रमुख झंक रावल, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठ, फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकी, डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन शुक्रऋषि चौलागाईले गरेका थिए । नेपालगन्जमा रहेका सुरक्षाकर्मी, अधिकारकर्मी लगायतलाई मानव अधिकार शिक्षाबारे अभिमुखिकरण गरिएको हो ।