काठमाडौं : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबार (आज) काठमाडौंमा सुरु हुँदैछ । माओवादी केन्द्रले अन्तिममा सम्मेलनलाई आठौं महाधिवेशनमा लैजाने निर्णय शनिबार गरेको थियो ।
यसअघि २०५९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो । आइतबार दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ ।
उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको हो ।
यसअघि गत मंसिरमा नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रलाई बोलाए पनि अध्यक्ष प्रचण्ड गएनन् । माओबादी केन्द्रका नेता लीलामणि पोखरेललाई पठाएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता गरी नेकपा बनाएर दुई अध्यक्ष बनेका ओली र प्रचण्ड नेकपा भंग भएयता एकअर्काविरुद्ध हात धोएर लागेको देखिन्छ ।
उनीहरूबीच धेरै महिनापछि अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा एकै मञ्चमा भेट भएको थियो । त्यसैगरी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि धेरै समयपछि त्यही बेला ओलीसँग एकै मञ्चमा देखिएका थिए । तर, यी तिनै नेताले सम्बोधनका क्रममा एकअर्काको नाम लिनुपर्छ भनेर अतिथिलाई एकमुस्ट रूपमा अतिथि गण भनेका थिए ।