काठमाडौं : नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ । सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार दिइएको छ ।
वरियतामा देउवा पहिलो नम्बरमा छन् । त्यसपछाडिको वरियतामा पदाधिकारीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन् । कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन् । त्यसपछि पहिलेका पदाधिकारी अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिलबहादुर थापापछाडि मात्रै कोइरालालाई राखिएको छ ।
रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको वरियता दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन । १३ औं महाधिवेशनपछि पौडेल दोस्रो वरियतामै थिए। १४औं महाधिवेशनमा उनी मतदान नगरी बसेका थिए । सिटौला भने महाधिवेशनमा देउवासँग मिलेका थिए ।
पौडेल र सिटौलालाई केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी छ । उनीहरू मनोनित भएर वरियता तोकिँदा कोइराला अझै तल पर्न सक्ने सानेपा स्रोत बताउँछ । देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए । सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ ।
वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठकमा गएनन् । वरियतामा असन्तुष्ट रहेका कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । १३औं महाधिवेशनमा कोइराला वरियतामा ३५ नम्बरमा थिए ।