काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि आफूले गरेका विभिन्न गल्तीहरुलाई स्वीकार गरेका छन ।
बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले आत्मसमिक्षा गरेका हुन् । उनले प्रस्तुत गरेको प्रतिवेदनमा आफूबाट भएका तीन कमिकमजोरी औँल्याएका हुन् । प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि चुनावको मुखमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन । उनले प्रतिवेदनमा भनेका छन, ‘विद्रोहको कुरै गर्नुहुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’
प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकारेका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।
उनले प्रचण्डपथलाई हठात स्थगित गर्नुलाई पनि आफ्नो गल्ती भनेका छन । ‘प्रचण्डपथबारे पार्टीको कुनै तहमा छलफल नभएको उल्लेख गरेका छन । ‘कि यसलाई विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने स्थगित गर्नेबारे छलफल गर्नुपथ्र्यो,’ प्रतिवेदनमा प्रचण्डले लेखेका छन ।
प्रतिवेदनमा प्रचण्डले गिरिजादेखि माधवकुमार नेपाल सम्मको प्रशंसा गरेका छन । शान्ति सम्झौतादेखि देशलाई गणतन्त्रसम्म लैजाने वातावरण माधव नेपाल, गिरिजाप्रसाद कोइराला लगायतले निकै महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।
एमाले अध्यक्ष ओलीको भने कडा आलोचना गरिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता ओलीकै कारण टिक्न नसकेका आरोप दाहालले लगाएका छन् ।