नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा यही पुस २७ गते हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदका लागि अहिलेसम्म ७ जनाले आकांक्षा देखाएका छन् । सभापति पदका लागि संस्थापन (शेरबहादुर देउवा) पक्षका ६ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षका एक जनाले आकांक्षा देखाएका हुन् ।
संस्थापन पक्षबाट लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, पुर्वसभासद बादशाह कुर्मी, सुनिलनरसिंह राणा, निरन्जनसिंह सिजापति, राजकुमार वर्मा र लक्ष्मीनारायण शाह आकांक्षी छन् । यस्तै संस्थापन इतर पक्षबाट नारायणप्रसाद गौडेल मात्र आकांक्षी देखिएका छन् । १३ औं महाधिवेशनमा सिजापति किरण कोइरालासँग पराजित भएका थिए, भने गौडेल र शाह तेस्रो तथा चौथो नम्बरमा आएका थिए ।
जिल्ला नेतृत्वका लागि अहिलेसम्म आधा दर्जन आकांक्षी देखिएपनि अन्तिम समयमा संयुक्त रुपमा प्यानल बनाएर चुनावी मैदानमा होमिने संस्थापन पक्षको रणनीति छ । संस्थापन इतर पक्षले भने गौडेलको नेतृत्वमा एकल प्यानल बनाउने तयारी गरिरहेको छ । उक्त पक्षले कतिपय पदमा उम्मेदवार निश्चित गरेपनि केहीमा नाम थप्न बाँकी रहेको नेताहरु बताउँछन् ।
संस्थापन पक्षका हमाल, कुर्मी, सिजापति, राणा, वर्मा र शाहले केन्द्रिय सभापति शेरबहादुर देउवासँग परामर्श गरेर मात्र चुनावमा अगाडी बढ्ने बताएका छन् । ‘पार्टीको चुनावमा धेरै जना आकांक्षी हुनु स्वभाविक हो, कांगे्रस जस्तो विशाल पार्टीभित्र नेतृत्वमा आउने प्रयत्न हुनु सकारात्मक कुरा हो, संस्थापन पक्षका हामी सबै जना शेरबहादुर दाईको सल्लाह र परामर्शभन्दा बाहिर जादैनौं,’ संस्थापन पक्षका एक आकांक्षीले भने ‘केन्द्रिय समितिमा संस्थापन पक्षले बहुमत ल्याएको अवस्थामा जिल्ला तहको निर्वाचनमा हामीहरु एक आपसमा लड्ने कुरै हुदैन ।’ संस्थापन पक्षबाट सभापति पदमा धेरै जना आकांक्षी भएपनि प्यानल एउटै बनाउनुपर्नेे कार्यकर्ताको दवाव छ ।
नेपाली कांग्रेस बाँकेको वडा तहदेखी तीन वटै क्षेत्रसम्मको निर्वाचन परिणाम हेर्दा बाँकेमा संस्थापन पक्षको बलियो पकट रहेको देखिन्छ । जिल्लाका ८१ वटै वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधीको संख्या हेर्दा संस्थापन पक्षको झण्डै दोब्बर बढी मत रहेको कांग्रेस नेता, कार्यकर्ता बताउँछन् । जिल्ला नेतृत्व आफ्नो आउने लगभग निश्चित जस्तै भएपछि संस्थापन पक्षका आकांक्षी धेरै बढेको बताइन्छ ।
यसअघि पनि बाँकेमा निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रदेश अधिवेशनका कारण स्थगित भएको थियो । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले बाँकेसहित १६ जिल्लामा पुस २७ गते निर्वाचन गर्ने निर्णय गरेपछि पुनः सरगर्मी बढेको हो ।