नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचन नजिकिएसँगै चहल पहल बढेको छ । नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले यही पुस २७ गतेका दिन बाँकेसहित १६ जिल्लाको निर्वाचन तोकिसकेको छ । यसअघि प्रदेश अधिवेशनका कारण केन्द्रिय निर्वाचन समितिले बाँकेसहित १६ जिल्लाको निर्वाचन अचानक स्थगित गरेको थियो ।
कांग्रेसको प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन समितिले बाँकी रहेका जिल्लामा निर्वाचन गराउने तयारी गरेको हो । जिल्लाको निर्वाचन मिति नजिक आएसँगै बाँकेमा कांग्रेस नेता, कार्यकर्तामा उत्साह थपिएको छ । उम्मेदवारी टुंगो लागिसकेका ब्यक्तिहरु मतदाता भेटघाटमा ब्यस्त हुन थालेका छन्, भने टुंगो लाग्न बाँकी रहेका ब्यक्तिहरु आफ्नो उम्मेदवारीका लागि लविङमा जुटेका छन् ।
कांग्रेस पार्टी कार्यालय मात्र नभएर चोक र चिया पसलमा समेत यतिबेला कांग्रेस निर्वाचनको चर्चा हुन थालेको छ । कांग्रेस नेता कार्यकर्ता मात्र नभएर सर्बसाधारण नागरिकले समेत कांग्रेसको निर्वाचन र अब आउने नेतृत्वबारे चासो राख्ने गरेका छन् ।
केहीदिन यता पार्टी कार्यालयमा नेता, कार्यकर्ताको चहल पहल सुरु भएको छ । सभापतिदेखी जिल्ला कार्यसमिति सदस्य सम्मका आकांक्षीहरु पार्टी कार्यालयमा पुगेर भेटघाट गरिरहेका छन् । पार्टी कार्यालय र बाहिर कांग्रेस निर्वाचनकै चर्चा हुने गरेको छ । १४ औं अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्वमा कस्लाई पुर्याउने भन्नेमा नेता, कार्यकर्ताबीच छलफल हुने गरेको छ ।
‘पार्टीको निर्वाचन नजिक आइरहेको हुनाले नै होला, पार्टी कार्यालयमा धेरै नै चहल पहल बढेको छ,’ एक कार्यकर्ताले भने ‘पार्टीलाई हाँक्न सक्ने क्षमता भएको र आम कार्यकर्ताको दुःख र पीडा बुझ्ने सरल ब्यक्तिलाई यसपाली नेतृत्वमा ल्याउनुपर्छ भन्नेमा सबैजसो नेता र कार्यकर्ताको धारणा छ ।’
निर्वाचनले सभापतिसहित उपसभापति, सचिव र सह-सचिवमा २/२ जना तथा कार्यसमिति सदस्य निर्वाचित गर्नेछ । यस्तै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधी (अपांगता तथा अल्पसंख्या) पनि निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।