बन्धन केसी/नेपालगन्ज : नेपालगन्जको राँझाबाट सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना युवा पक्राउ परेका छन् । राँझामा अबैध रुपमा सुनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उक्त धातु र नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा कारोबार भइरहेकै अवस्थामा जाजरकोट बारेकोट गाँउपालिका वडा नम्बर– ६ निवासी २२ वर्षका राजु कार्की र सोही गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय पुर्णबहादुर बिकलाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । बुधबार बेलुका ८ बजेतिर उनीहरु पक्राउ परेपनि प्रहरीले बिहीबार दिउँसो मात्र घटना उक्त सार्वजनिक गरेको छ ।
उनीहरुको साथबाट साथबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातुको विस्कुट एक थान, नगद दुई लाख ७७ हजार र चार लाखको एउटा चेक बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पक्राउ परेका कार्की र बिकलाई हिरासतमा राखेर अनुसन्धान गर्दा उक्त धातु ‘नक्कली सुन’ रहेको पुष्टी भइसकेको उनले बताए । ‘सुन जस्तो देखिने यो धातु कहाँबाट ल्याइएको र कहाँ लैजान थालिएको भन्ने कुरा अझै खुलेको छैन,’ एसपी अधिकारीले भने ।
सुन भएको आशंकामा उक्त धातुलाई बिहीबार चेकजाँच गर्दा पुरै नक्कली रहेको पाइएको उनले जिकिर गरे । ‘यो धातुको तौल ६ सय ग्राम मात्र रहेछ, सुनचाँदी ब्यवसायी संघ कहाँ लगेर चेकजाँच गर्दा पुरै नक्कली रहेको पाइयो,’ उनले भने ‘बाहिरबाट सुन जस्तो देखिएपनि भित्र त फलाम मात्र रहेछ ।’
प्रारम्भिक अनुसन्धान गर्दा पक्राउ परेका युवाले अर्को ब्यक्तिसँग ५ लाख नगद र ४ लाख दिने सहमतिमा किनेको खुलिसकेको एसपी अधिकारीले बताए । सुन भनेर नक्कली सुन बेच्ने र ठगी गर्ने ब्यक्तिको समेत पहिचान भएर पक्राउ गरिसकेको उनले जानकारी दिए ।
‘हामीले अब यसमा ठगी केशमा मुद्दा चलाउँछौं,’ अधिकारीले भने । यसअघि नेपालगन्ज विमानस्थलबाट गत भदौं १८ गते पनि चार किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । श्री एयरको जहाजमार्फत काठमाडौँबाट नेपालगन्ज आएका मोरङका दुई युवाको साथबाट चार किलो सुन बरामद गरिएको थियो ।